
विभिन्न क्वारेन्टिनबाट घर फर्काइएका डडेल्धुराका ५८ जनामा कोरोना पुष्टि भएको छ । गन्यापधुरा गाउँपालिकाले क्वारेन्टिनबाट घर पठाइएकामध्ये ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । क्वारेन्टाइनमा रहेकाहरुको स्वाब संकलन गरी एक हप्ताअघि घर पठाएकोमा बिहीवार मात्रै उनीहरुको रिपोर्ट आएको हो ।

गन्यापधुरा स्वास्थ्य शाखा प्रमुख वासुदेव नौन्यालका अनुसार क्वारेन्टिनमा राखेको १४ दिनसम्म कसैमा पनि कोरोनाको लक्षण नदेखिएको र स्वाब परीक्षणको रिपोर्ट ढिला भएकोले उनीहरुलाई घर पठाइएको हो । स्वास्थ्य कार्यालयका अनुसार बिहीबार गन्यापधुरा गाउँपालिकाका ५८ जनामा कोरोना संक्रमण देखिएको थियो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा गन्यापधुरा गाउँपालिका वडा नं. ३ मा १९ जना, वडा नं.४ मा १५ जना, वडा नं. ५ मा एकजना वडा नं. २ मा २३ जना छन्। रिपोर्ट नआउँदै स्थानीय तहहरुले घर पठाउदा गाउँमा त्रास फैलिएको छ। गाउँपालिकाहरुले आरडीटी पोजेटिभ भएकाहरुलाई पनि होम क्वारेन्टाइनमा पठाएको छ ।
