तराईमा झरी, पहाडमा हिमपातले जनजीवन कष्टकर
2022/02/05, 11:01
 
dd

सुदूरपश्चिम प्रदेशको विभिन्न जिल्लामा बाक्लो हिमपात भएको छ । हिमपातको कारण अत्यधिक चिसो भएर जनजीवन कष्टकर बनेको छ । प्रदेशको सात पहाडी जिल्लामध्ये दार्चुलाका विभिन्न क्षेत्रमा बुधबार रातिदेखि हिमपात सुरु भएको थियो । हिमपातका कारण चिसो बढेपछि जनजीवन कष्टकर बनेको छ । 
दार्चुलाका उच्च हिमाली क्षेत्र व्यास, नौगाड, अपि हिमाल, न्वालपानी, दल्लेख लगायतका क्षेत्रमा हिमपात भएको मालिकार्जुन गाउँपालिका–२ का स्थानी धनसिंह धामीले बताए । त्यस्तै व्यास गाउँपालिकाको वडा नम्बर ३ को सीना तुसरपानी, वडा नम्बर २ को राप्ला, दुम्लीङ, वडा नम्बर ४ को सुन्सेरा, डोकट, वडा नम्बर ५ को धौलाकोट, वडा नं ६ को हुति लगायतका बस्तीहरुमा हिउँ परेको व्यास गाउँपालिकाका पदमराज भट्टले बताए ।
हिउँले खाने पानीका पाइपहरु जाम भएकाछन भने शौचालय जान समेत समस्या भएको छ ।

हिउँदमा भारी हिमपात हुने छाङरु र तिंकरका स्थानीय बासिन्दा मंसिर महिनामा नै दार्चुला सदरमुकाम खलंगा झरिसकेका छन् । तिंकर गाउँ हिउँदमा मानवविहीन भएको छ भने १२ किलोमिटर तल रहेको छाङरु गाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरी मात्रै छन् । अहिले चिसोका कारण व्यास गाउँ पालिका वडा न १ छाङ्रुमा रहेका सुरक्षा कर्मीहरुलाई पनि समस्या भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख मनोहर भट्टले बताए ।यसैगरी, बिहीबार रातिदेखि परेको बाक्लो हिमपातका कारण सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । लगातारको बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय बुडरले जनाएको छ । राजमार्गमा परेको हिउँ हटाउने प्रयास भइरहेको बताइएको छ ।

राजमार्ग अवरुद्ध भएपछि दजनौँ सवारीसाधन तथा यात्रु अहिले यहाँको गैरा तथा बुडर बजारमा रोकिएका छन् । उक्त राजमार्गअन्तर्गतको साहुखर्क, गैरा, हगुल्टेमा भारी हिमपात भएको छ । यसैगरी डोटीको सिलगढी तथा अछामको साफे जोड्ने पहलमानसिंह स्वाँर राजमार्ग पनि हिमपातका कारण अवरुद्ध भएको छ । उक्त राजमार्गअन्तर्गत डोटीको चौखुट्टैमा बाक्लो हिमपात हुँदा बाजुरा, अछामबाट तराई जान आएका तथा तराईबाट पहाड जान हिँडेका सवारी तथा यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।विभिन्न क्षेत्रमा भारी हिमपातका कारण चिसो बढेपछि यहाँको जनजीवन कष्टकर बनेको छ । बाक्लो हिमपातकाका कारण नागरिक घरबाहिर निस्किन सकिरहेका छैनन् । यहाँका खप्तड, गोलादेउ, नापानी, चर्केकोलेक, बडिकेदारथान, अल्याडी, चौरीबाज, ओखरखाली, मुस्ताल, देउताल, शिखरगाथ क्षेत्रमा बिहीबारदेखि हिमपात भइरहेको छ । यस क्षेत्रमा केही हप्ता पहिले परेको पग्लिन नपाउँदै फेरि हिउँ परेपछि चिसो बढेको हो ।

पानीका मुहानदेखि रुखहरुमा समेत बाक्लो हिउँ जमेका कारण गाईवस्तुलाई घाँस काट्न र मानिसलाई पानी खानसमेत समस्या भएको बडिकेदार गाउँपालिका–२ का भरत बोहराले जानकारी दिए । यसैगरी, बैतडीको खोड्पे, अनारखोली, सतबाँझ, ग्वाल्लेक, श्रीभवरलगायतका ठाउँमा चार फिट बाक्लो हिमपात भएको छ बिहीबार साँझदेखि परेको हिमपातका कारण तराईबाट पहाडी जिल्लाका लागि छुटेका सवारी साधन डोटीको गैरा, डडेल्धुराको भतकाँडा, बैतडीको अनारखोली र खोड्पेमा रोकिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।हिमपातले बैतडी, बझाङ, दार्चुला र डडेलधुरामा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक दर्शन खड्काले बताए । हिमपातका फसेका सवारी साधन सूचारु गर्न हिउँ सफा गर्ने प्रयास भइरहेको उनले बताए । 

हिमपातका कारण बैतडीको खोड्पेमा टेलिफोन र बिजुली र खानेपानी बन्द भएको स्थानीयवासी मोहन विष्टले बताए । चिसोले जनजीवन कष्टकर बनेको विष्टले बताए । ‘खोड्पेमा चार फिट बाक्लो हिमपात भएको छ । यातायातका साधन रोकिएका छन् । बझाङ, दार्चुला जाने गाडीका यात्रु चिसोले समस्यामा परेका छन्’, विष्टले भने–‘बजार बन्द छ । बाक्लो हिमपातका कारण गाउँबाट किसानले दूध, तरकारी लगायतका वस्तु बिक्री गर्न आउन सकेका छैनन् ।’हिमपातका कारण बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । जिल्ला भित्रिने र जिल्लाबाट बाहिरिने सवारीसाधनहरू खोड्पे, सतबाज, अनारखोलीलगायतका स्थानमा रोकिएका छन् । यस्तै हिमपातले डडेल्धुराबाट अगाडि आउने सवारीसाधनहरू पनि बीच बाटोमै राकिएका छन् भने बझाङ जाने सडकमा पनि हिपपातले सवारीसाधन ठप्प छन् । लगातार हिउँ परिरहेका कारण सडकमा एक्स्काभेटर लगाउन नसकिएको प्रहरीले जनाएको छ ।

यस्तै, तराईमा भइरहेको हिउँदे वर्षाले जनजीवन प्रभावित भएको छ । बिहीबारदेखि भइरहेको वर्षाका कारण चिसो बढेपछि जनजीवन कष्टकर बनेको हो । यसैगरी, वर्षाले गर्दा मान्छेको कामकाजको दैनिकीसमेत प्रभावित भएको छ । यसैगरी, हिउँदे वर्षाले केही हिउँदे बालीलाई थोरै फाइदा गरे पनि तोरी, आलुलाई नोक्सान गरेको छ । यो वर्ष पटक–पटक भइरहेको वर्षाका कारण आलु उत्पादन नै प्रभावित भएको छ । यस्तै, काटेर भित्र्याउन तयार पारिएको तोरीलाई नोक्सान गरेको छ । 

यो वर्ष कात्तिकमा भएको बेमौसमी वर्षा र आएका बाढीका कारण हिउँदेबाली लगाउन ढिलो भएको थियो । ढिलोका कारण राम्ररी सप्रन नपाएको बालीलाई हिउँदे वर्षाले प्रभावित गरेको र यसले खाद्यान्न समस्या हुन सक्ने प्रादेशिक कृषि निर्देशनालयका प्रमुख यज्ञराज जोशीले बताए । ‘यो वर्ष धान उत्पादनपनि पर्याप्त छैन’, उनले भने । ‘हिउँदमा भएको वर्षाले बाली उत्पादनमा ह«ास आइ खाद्यान्न समस्या हुन सक्छ ।’ उनका अनुसार अहिलेको वर्षाले काटेर खेतमा राखेको तोरी, नखनेको आलुलाई त असर गर्छ नै । खल्ला जमिनमा भएको गहुँ र मसुरलाई पनि यसले पहेलो बनाउने जोशीले बताए । ‘सिँचाइ सुविधा नभएको उँचो जमिनको गहुँ र मसुर बालीलाई वर्षाले फाइदै हुन्छ’, उनले थपे । ‘तर, खल्ला जमिनको गहुँ, मसुरलाई भने नोक्सान गर्छ ।’