संक्रमितसँगै बसेकालाई रिपोर्ट नआउँदै घर पठाइयो
2020/06/19, 9:10
 
korona

कोराना संक्रमण पुष्टि भएका १९ जनासँगै बसेकाहरुलाई स्वाब परीक्षणको रिपोर्ट  नआउँदै घर पठाइएको छ । बाजुराको बुढीगंगा नगरपालिकाको धुरालसैन माध्यमिक विद्यालयको क्वारेन्टाइनमा संक्रमितसँगै बसेका ६२ जनालाई स्वाब परीक्षणको नतिजा नआउँदै घर पठाएपछि गाउँमा त्रास फैलिएको छ ।

सोही क्वारेनटाइनमा बसेकी २ वर्षीया बालिकाको केही साता अघि कोरानाको कारण मृत्यु भएको थियो । उनकी आमामा पनि संक्रमण पुष्टि भएको थियो । त्यस पछी क्वारेन्टाइनमा बसेका सबै १ सय ८७ जनाको पीसीआर परीक्षणको लागि स्वाब संकलन गरिएको थियो । त्यसमध्ये १ सय २४ जनाको रिपोर्ट आइसकेको छ । ६२ जनाको रिर्पाेट आउन बाँकी छ । जसमा १७ जनामा संक्रमण पुष्टि भएको छ ।

रिपोर्ट नआउँदै घर गएका ६२ जना व्यक्तिहरु १७ जना संक्रमितसँग ११ दिनसँगै बसेका थिए । संक्रमण पुष्टि भएकाहरुलाई आइसोलेसनमा राखेर नभएकालाई घर पठाउने क्रममा रिपार्ट आउन बाँकी व्यक्तिहरु पनि जबर्जस्ती घर गएको बुढीगंगा नगरपालिकाका नगरप्रमुख दीपक विक्रम शाहले बताए । ‘नजानु होस् भनेर पटक–पटक रोक्ने प्रयास ग¥यौ तर सकेनौं,’ उनले भने, ‘केही गर्दा नमानेपछि आफ्नै घरमा होम क्वारेन्टाइनमा बस्नु होला भनेर सम्झाएर पठाएका हौं ।’

रिपोर्ट नआउँदै घर गएकाहरुमा कुनै पनि लक्षण चिन्ह नदेखिएकोले जोखिमको सम्भावना कम रहेको उनको भनाइ छ । नगरपालिकाले घरमै क्वारेनटाइनमा बस्ने सहमति गरेर पठाएको भने पनि उनीहरु भने त्यसरी नबसेको पाइएको छ । ठूलो संख्यामा गाउँ आएका उनीहरु घर परिवारसँगै बस्ने र खेतीपाती लगायत समूहमा गरिने काममा समेत सहभागी भैरहेको स्थानीयले बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले रिपोर्ट नआएकाहरुलाई घर पठाइएकोबारे जानकारी आएको भन्दै त्यस्ता व्यक्तिहरु घरमै आइसोलेसनमा बस्नु पर्नेमा समाजमा मिसिँदा जोखिम बढ्न सक्ने बताए । बाजुरामा कोरोना पुष्टि भएका १८ जना छन् । सबै स्थानीय क्वारेन्टाइनमा बसिरहेका छन् । एक जना संक्रमित बालिकाको मृत्यु भैसकेको छ ।

स्वास्थ्यकर्मी कुटिए
आरडिटी परिक्षणमा पोजिटिभ रिपोर्ट निकालेको भन्दै स्वास्थ्यकर्मीमाथि ढुङ्गामुढा गरिएको छ । बाजुराको हिमाली गाउँपालिकाको बागेश्वरी माध्यमिक विद्यालय रुगिन क्वारेन्टाइनमा यो घटना भएको हो । घटनामा गाउँपालिकाका स्वास्थ्य संयोजक राजबहादुर भण्डारी घाइते भएका छन् ।

क्वारेन्टाइनमा बसेको १४ दिन पूरा भएकाहरुको आरडीटी परीक्षण गर्ने क्रममा एक जना महिलाको रिपोर्ट पोजिटिभ आएपछि ‘रिपोर्ट किन पोजिटिभ निकालिस्’ भन्दै उनीमाथि ढुङ्गामुढा प्रहार भएको थियो । क्वारेन्टाइनमा बसेकाहरुले प्रहार गरेको ढुंगा लागेर स्वास्थ्य संयोजक भण्डारी घाइते भएका छन् । भण्डारीको छातीमा चोट लागेको छ ।

उनको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताए । उनको अवस्थामा सामान्य सुधार आएको पन्तले जानकारी दिए । स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने तीन जनालाई नियन्त्रणमा लिएर कारबाही थालिएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए ।