कञ्चनपुरमा भाडामा बस्दै आएका २ जनाले आफ्नै घरबेटीलाई लुटेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–३ मा बस्ने सन्तोश पाण्डेको परिवारका सबै सदस्यलाई बेहोस बनाएर शुक्रबार राति घरमा लुटपाट भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
घरमा २ दिन अगाडि मात्रै कोठा भाडा लिएर बस्दै आएका दुई जना भारतीय नागरिकले सबैलाई बेहोस बनाएर लुटपाट गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका नायब उपरीक्षक चक्रबहादुर शाहले बताए। उनका अनुसार शुक्रवार राति ती भारतीय नागरिकले परिवारका सदस्यलाई श्रीमतीको जन्मदिन परेको भन्दै नसालु मिठाइ र केक खुवाएर बेहोस बनाएका थिए।
उनीहरुले घरमा रहेको गरगहना, नगद, मोबाइल, कम्प्युटर लगायतका सरसामान चोरी गरेको पीडितले बताएका छन्। चोरीमा संलग्नहरुको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक शाहले बताए। बेहोस भएका पाण्डे, उनकी श्रीमती कमला, २० वर्षीया छोरी सोना, १८ वर्षीय छोरा सन्दिप र १४ वर्षीय छोरा सुदिपको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।