कैलालीसहित तराईमा लगातार दुई दिनसम्म भएको वर्षाले हिउँदे बाली र इँँटा उद्योगमा ठूलो नोक्सान गरेको छ । बिहीबार र शुक्रबार परेको हिउँदे झरीका कारण आलु, तोरी लगायतका हिउँदे बालीमा नोक्सान भएको हो । यसैगरी, पानीले काँचो इँटा भिजाएछि इँटा व्यवसायीले लाखौं रुपैयाँको नोक्सान ब्यहोरेका छन् ।
अहिले तोरी र आलुबाली भित्र्याउने सिजन हो । यो बेला भएको वर्षाले भित्र्याउन तयार पारेको तोरी भिजाएको छ । नकाटेको तोरीलाई वर्षाले खासै असर नगरे पनि काटेर भित्र्याउन नसकिएको तोरीलाई पानीले नोक्सान गरेको किसानको भनाइ छ । यसैगरी, भित्र्याउन बाँकी रहेको आलु बालीलाई पनि हिउँदे वर्षाले नोक्सान गरेको छ । त्यसो त, लामो समयसम्म घाम नलागेका कारण धेरै किसानको आलु खेती डढुवा रोगले प्रभावित भएको थियो । त्यसैमाथि भएको वर्षाले भएको आलु पनि खेतमै कुहिने अवस्था आएको धनगढी उपमहानगरपालिका–९ बङ्गराका कृषक सियाराम चौधरीले बताए ।
‘हाम्रो यता गहुँलाई त पानीले खासै समस्या गरेन’, उनले भने । ‘तर, तोरी र आलुमा ठूलो नोक्सान भएको छ ।’ उनले कैयौं किसानको तोरीलाई पानीले भिजाएको बताए । यो वर्ष पुस महिनामापनि वर्षा भएको थियो । यसैगरी, माघ महिनामा पनि वर्षा भइरहेको छ । सुरुवाती वर्षाले हिउँदे कृषिबालीलाई फाइदा भए पनि अहिलेको वर्षाले बेफाइदा गरिरहेको किसानको भनाइ छ । गहुँबाली सिँचाइ गरिसकेको अवस्थामा भइरहेको वर्षाले खल्ला जमिनमा लगाइएको गहुँलाई पनि समस्या गरिरहेको छ । उँचो वा भिरालो जमिनमा लगाइएको गहुँ र मसुरो बालीलाई यो पानीले फाइदा गरे पनि तोरी, आलु लगायत खल्ला जमिनमा रहेको गहुँ, मसुरोलाई बेफाइदा गरेको प्रादेशिक कृषि निर्देशनालय डोटीले जनाएको छ ।
पानी जम्ने ठाउँमा रहेका भित्र्याउन बाँकी आलु कुहिएर जाने र खल्ला जमिनको गहुँ पहेलो हुने निर्देशनालयका प्रमुख यज्ञराज जोशीले बताए । ‘उँचो जमिनको गहुँलाई त फाइदै हुन्छ’, उनले भने । ‘तर, पानी जम्ने ठाउँका खल्ला जमिनको गहुँ पहेलो भएर बिग्रिन्छ ।’जोशीले कैलाली, कञ्चनपुरको दक्षिणी बेल्टमा प्रायःजसो खल्ला जमिन रहेको र सो क्षेत्रमा गहुँबाली प्रभावित हुन सक्ने बताए । यसैगरी, पानीले मसुरो बालीमा अझ बढी नोक्सान पुग्ने जनाइएको छ । मसुरो कोसे बाली रहेका कारण यसले पानी सहनै नसक्ने कृषि प्राविधिकको भनाइ छ । पानी जमेको ठाउँमा केही दिनमा मसुरो मर्ने बताइएको छ । गएको कात्तिकमा भएको बेमौसमी वर्षा र आएको बाढीका कारण यो वर्ष हिउँदे बालीको खेती नै पछाडि धकेलिएको थियो । खेती नै पछाडि भएका कारण राम्ररी सप्रिन नपाएको हिउँदेबालीलाई हिउँदे वर्षाले प्रभावित गरेको छ ।
सुदूरपश्चिमको तराईको दुई जिल्ला उर्वरभूमि हो । यी दुई जिल्लामा गहुँ ६५ हजार ७७५ हेक्टर, आलु सात हजार दुई हेक्टर र तेलहन बाली करिब २० हजार ८४८ हेक्टर जमिनमा लगाइने गरेको निर्देशनालयले जनाएको छ । तर, हिउँदे वर्षाका कारण उत्पादन ह«ास हुन सक्ने बताइएको छ । यो हिउँदे वर्षाले समग्रमा खाद्यान्नमा असर पुग्ने निर्देशनालयका प्रमुख जोशीले बताए । उनले उत्पादन कम भइ खाद्यान्न समस्या बढ्न सक्ने बताए । ‘यसवर्ष बाढीका कारण धान उत्पादन निकै न्यून छ’, उनले भने । ‘हिउँदे वर्षाले हिउँदे बालीमा नोक्सान भइ खाद्यान्न समस्या हुन सक्छ ।’
यसैगरी, हिउँदे झरीका कारण कैलालीमा लाखौं मूल्य बराबरको इँटा नोक्सान भएको छ । इँटा बनाउने सिजनमा भएको वर्षाले यो वर्षपनि ठूलो नोक्सान व्यहोर्नु परेको इँटा व्यवसायीको भनाइ छ । यो वर्ष तीन÷चार पटक इँटा भिजेर नोक्सान भइसकेको उनीहरुले जनाएका छन् । एउटै इँटा उद्योगमा लाखौं मूल्यको काचो इँटा भिजेर नोक्सान भएको छ । वर्षाले एकैचोटी १७ लाख काँचो इँटा नोक्सान भएको धनगढीस्थित दक्षिणकाली इँटा उद्योगका म्यानेजर गोबिन्द चौधरीले बताए । ‘पानीले गर्दा इँटामा ठूलो नोक्सान भएको छ’, उनले भने । वर्षाका कारण यो वर्ष इँटा उत्पादन नै गर्न नपाइरहेको इँटा उद्योग व्यवसायीले जनाएका छन् ।