नेपाल भित्रिएको मनसुन एक हप्तामा सुदूरपश्चिम पुग्यो, प्रदेशभर फैलिन अझै एक दुई दिन लाग्ने
2020/06/19, 9:52
 
mansoon

गएको शुक्रबार पूर्वी भागबाट नेपाल प्रवेश गरेको मनसुन एक हप्तापछि सुदूरपश्चिम प्रदेश पुगेको छ । अहिले  सुदूरपश्चिमका केही भूभाग बाहेक देशभर मनसुन सक्रिय रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका सबैजसो ठाउँमा मनसुन फैलिन अझै एक दुई दिन लाग्नेछ । माथिल्लो वायुमण्डलमा उच्च चापीय क्षेत्रको प्रभावले कर्णाली क्षेत्रबाट मनसुन अगाडि बढ्न सकेको थिएन । उच्च चापीय क्षेत्रको प्रभाव कम हुँदै गएपछि मनसुन सुदूरपश्चिमतर्फ सर्दै गएको हो ।

दुई दिन ढिलो गरी गएको जुन १२ अर्थात् जेठ ३० गते मनसुन नेपाल भित्रिएको थियो । देशभर मौसम सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताए । 

प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का धेरै ठाउँमा तथा कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा हल्का पानी पर्नेछ । शुक्रवार राति पनि मौसम देशभर नै पूर्णरुपमा बदली रहनेछ । केही ठाउँमा ठूलो पानी पर्ने भएकोले नदीमा पानीको बहाब बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।