बैतडी पत्रकार महासङ्घ विवादः प्रेस चौतारीले लियो समर्थन फिर्ता
2022/02/15, 12:11
 
aa

पत्रकार महासंघ बैतडीको विवाद झन पेचिलो बनेको छ। महासंघ बैतडीको नयाँ कार्यसमिति चयन गर्न पत्रकारका चार सङ्गठनको सहमति भएको बताइए पनि प्रेस चौतारीले भने समर्थन फिर्ता गरेको भन्दै प्रेस विज्ञप्ति जारि गरेको छ।

पेसागत संगठनहरू र संगठन बाहिर रहेका स्वतन्त्र पत्रकारहरूको सहमति बिना बैतडीमा विवाद समाधान नहुने देखिएपछि प्रेस युनियनको नेतृत्वमा चयन गर्ने गरी गरिएको चार वटा सङ्गठनको निर्णयबाट समर्थन फिर्ता लिएको प्रेस चौतारी बैतडीका अध्यक्ष सिपि लोहियाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

साथै साधारण सदस्यता प्रदान गर्ने क्रममा जिल्लामा ठूलो संख्यामा गैर पत्रकारहरुलाई सदस्यता दिइएको विषयमा विगतदेखि नै विवाद रहेको र शुद्धीकरणकै विषयलाई लिएर गत चैतमा जिल्ला अधिवेशन पनि अवरुद्ध भएका कारण शुद्धीकरणको प्रक्रियापछि मात्र महासंघको नेतृत्व चुनिनुपर्ने जिल्लाबासी पत्रकारहरुको मागलाई सम्बोधन गर्न विज्ञप्तिमार्फत माग गरिएको छ।  

२०७७ चैतमा स्थगित भएको नेपाल पत्रकार महासंघ बैतडी शाखाको नेतृत्व चयनका लागि महासंघको प्रदेश कमिटिको टोली गत गत माघ २८ गते बैतडी पुगेको थियो। तर सहमति हुन नसकेपछि प्रदेश महासंघको टिम फर्केको छ। 

विज्ञप्तिमा नेपाल पत्रकार महासंघको विधानअनुसार विधि र प्रक्रियाद्वारा नेतृत्व छनौट गर्न भनिएको छ। विधानमा पत्रकार महासंघ निष्पक्ष संस्था रहने भन्दै व्यवस्था भए पनि महासङ्घ राजनीति गर्ने थलो जस्तै बनेको आरोप लाग्दै आएको छ।