सीमा क्षेत्रमा नेपाल–भारतका सुरक्षाकर्मीको गस्ती 
2022/02/20, 4:24
 
aa

कञ्चनपुरको दोधारा चाँदनीअन्तर्गत नेपाल भारत सीमा क्षेत्रमा सयुक्त गस्ती सुरु गरिएको छ। दोधारा(चाँदनी नगरपालिका(७ कञ्चनभोजको नेपाल–भारत सीमा स्तम्भ नं १४ देखि १५ सम्म नेपाल–भारतका सुरक्षाकर्मीहरुले संयुक्त गस्ती सुरु गरेका हुन्। दोधारा चाँदनी नगरपालिकाअन्तर्गत पर्ने नेपाल–भारत सीमा क्षेत्रमा दुबै देशका सुरक्षाकर्मीहरुले सञ्चालन गरेको संयुक्त सीमा गस्ती प्रभावकारी बन्दै गएको स्थानीयले बताएका छन्।

सीमा क्षेत्रमा चोरी, डकैती र आपराधिक क्रियाकलाप बढेपछि नेपाल भारत सीमा क्षेत्रका सुरक्षाकर्मीको केही महिनाअघि बसेको बैठकले संयुक्त सीमा गस्ती गर्ने निर्णय गरेको थियो। गस्तीले सीमा क्षेत्रमा हुने लुटपाट तथा आपराधिक कृयाकलापमा कमी आएको बताइएको छ। पटक–पटक सीमावर्ती क्षेत्रका नेपालीमाथि गरिने दुर्व्यवहार, सीमा अतिक्रमण विवाद र चोरी तथा तस्करीका घटनामा कमी आएको दुबै देशका सुरक्षा अधिकारीहरुको दावी छ।

नगर क्षेत्रको कुतियाकवर, अठार नम्वर पिल्लर बस्ती, सुन्दरनगर, कञ्चनभोज, बडुवाल टोललगायतका क्षेत्र बढी संवेदनशील रहेको हुँदा उक्त क्षेत्रमा भारतीय सीमा सुरक्षा बल एसएसबी, भारतीय प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरीले समय(समयमा सयुक्त रुपमा विशेष गस्तीसमेत सञ्चालन गर्दै आएका छन्। सीमा अतिक्रमण, लागूऔषध ओसारपसार, अवैध हातहतियार, आतंकवादी गतिविधि, तस्करी, सामान्य विवादलगायत अपराध नियन्त्रणमा सयुक्त सीमा गस्ती प्रभावकारी भएको स्थानीयले बताएका छन्।