बैतडीकी भागरथीको बलात्कारपछि हत्याका दोषीलाई साढे १२ वर्ष कैद
2022/02/22, 11:07
 
dd

जिल्ला अदालत बैतडीले बलात्कारपछि हत्याको एउटा मुद्दामा डीएनए परीक्षणलाई समेत आधार मानेर आरोपितलाई दोषी ठहर गरेको छ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ कतोलाकी १७ वर्षकी भागरथी भट्टको बलात्कारपछि हत्या मुद्दामा जिल्ला अदालत बैतडीले डीएनए परीक्षणलाई आधार मानेर उनका सहपाठी दिनेश भट्टलाई दोषी ठहर गरेको हो। जिल्ला न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले आरोपित भट्टले प्रहरी र अदालतमा गरेको साविती बयानका साथसाथै डीएनए परीक्षणलाई समेत आधार मानेर फैसला गरेका हुन्। जिल्ला अदालतले दिनेशलाई १२ वर्ष ६ महिना कैद सजाय तोकेको छ।

२१ माघ २०७७ मा भागरथी विद्यालय गएकी थिइन्। विद्यालयमा विदा भएपछि दिउँसो २ बजे उनी नजिकैको खोचलेक बजारमा पुगेको पुष्टि हुन्छ तर त्यसपछि सम्पर्कविहीन हुन्छिन्। उनको मोवाइल पनि स्वीच अफ हुन्छ। भोलिपल्ट नजिकैको जंगलमा सडकबाट करिव सय मिटर तल उनको शव भेटिएको थियो।

टाउकोमा चोट, घाटी दबिएको, अनि खुट्टाको औलामा घाउ भएको र गुप्तांगमा चोट लागेको अवस्थामा उनको शव भेटिएको थियो। शव नजिकै उनको मोवाइल फेला परेको थियो।

घटनापछि पक्राउ परेका युवक दिनेश भट्टले आफूले भागरथीलाई धकेलेर लडाएको, त्यसपछि बाटो तल पु¥याएको र बलात्कारपछि हत्या गरेको स्वीकारेका थिए।