डडेलधुरा सदरमुकाम अनिश्चितकालका लागि बन्द
2020/06/20, 7:34
 
korona

कोरोना संक्रमण ब्यापक बढेपछि जिल्ला सुरक्षा समितिले शुक्रबार अपरान्ह ३ बजेदेखि डडेलधुरा सदरमुकाम अनिश्चितकालका लागि पूर्ण रुपमा बन्द गरेको छ । बिहीबारमात्र जिल्लामा ८३ जनामा संक्रमण पुष्टि भएपछि शुक्रबार बसेको सुरक्षा समिति बैठकले जिल्ला सदरमुकाम सिल गर्ने निर्णय गरेपछि वजार सिल भएको हो ।

‘सदरमुकाम पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको छ’, डडेलधुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले भने, ‘अर्को निर्णय नहुँदासम्म सदरमुकाम सिल हुनेछ ।’
सरकारले लकडाउन खुकुलो पारेपछि सदरमुकामका पसल, व्यापारिक प्रतिष्ठान, कार्यालय खुल्नुका साथै ग्रामीण क्षेत्रबाट सदरमुकाम आउने जानेको क्रम बढेको थियो । ग्रामीण क्षेत्रबाट चल्ने सवारी साधन पनि चल्न थालेका थिए ।

तर शुक्रबार जिल्ला सदरमुकामसँग जोडिएको गन्यापधुरामा ५६ जना र अजयमेरुमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सदरमुकाम सिल गरिएको हो । शुक्रबारसम्म जनस्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार डडेलधुरामा १ सय २८ जनामा संक्रमण पुष्टि भइसकेको छ ।