बैतडीमा ३ महिनादेखि राहदानी वितरण बन्द
2022/02/24, 3:52
 
dd

बैतडीमा साढे तीन महिनादेखि राहदानी सेवा बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन्। विद्युतीय राहदानी जारी गर्न जिल्ला प्रशासन कार्यालय बैतडीले मंसिर २ गतेदेखि एमआरपी पासपोर्ट वितरण बन्द गरेको थियो।

तीन महिनासम्म पनि विद्युतीय राहदानी प्रणाली सञ्चालन नहुँदा विदेश जाने तयारीमा रहेका बैतडेलीहरू समस्यामा परेका छन्। अत्यन्त आवश्यक भएर कारण र प्रमाणसहित आएका सेवाग्राहीबाहेक अन्य राहदानीको द्रुत सिफारिस र साधारण राहदानी फारम संकलन मंसिरदेखि बन्द रहेको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।

उनले भने, 'विद्युतीय राहदानी जारी गर्ने भनेर एमआरपी बन्द गरिएको हो, तर हालसम्म पनि विद्युतीय राहदानी वितरण शुरु हुन सकेको छैन।' सरकारले प्रत्येक जिल्ला प्रशासन कार्यालयबाट विद्युतीय राहदानी वितरण गर्ने रणनीति लिए पनि उक्त प्रणाली जडान गर्न प्राविधिक टोली नआउदा ढिलाइ भएको सूचना अधिकारी भारतीको भनाइ छ।

जसका कारण सेवाग्राहीले समस्या झेलिरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। अहिले सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लाका प्रशासन कार्यालयले मात्र विद्युतीय राहदानी वितरण गरिरहेका छन्।