कांग्रेस कैलालीको जिल्ला नेतृत्वका लागि ३ जनाको उम्मेदवारी परेको छ । सस्थापन पक्षबाट दुई र संस्थापनइतर समूहका १ जना गरी तीन जनाको बेग्लाबेग्ले प्यानलमा उम्मेदवारी परेको हो ।
कैलाली जिल्लाको शनिबार सुरु भएको निर्वाचन प्रक्रियामा संस्थापन पक्षबाट नारायणदत्त भट्ट र प्रकाश बमका दुई प्यानलले उम्मेदवारी दर्ता गराएका छन् । इतर समूहबाट रामबहादुर कलेलको प्यानलले उम्मेदवारी दर्ता गराएको छ । प्रधानमन्त्री एंव पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो आधिकारिक उम्मेदवारका रूपमा नारायणदत्त भट्टलाई अघि सारेका छन् । तर संस्थापन पक्षकै बागी उम्मेदवारको रूपमा बम देखा परेका छन् ।
संस्थापन पक्षकै सभापतिका दाबेदार भीमबहादुर बडुवाल भने पछि हटेका छन् । उनी भट्ट प्यानलबाट उपसभापति उम्मेदवारी दर्ता गराएका छन । भट्ट प्यानलबाट उपसभापतिको अर्को पदमा रामप्रसाद चौधरीले उम्मेदवारी दिएका छन् । संस्थापन पक्षकै बम समूहबाट खेमबहादुर डगौरा चौधरी र तेजशंकर भट्टले उपसभापतिमा उम्मेदवारी दिएका छन् ।
त्यस्तै, सचिवमा भट्ट समूहबाट सचिवका दुई पदमा केशवप्रसाद मिश्र र अमृत बिसीले उम्मेदवारी दर्ता गराएका छन् । बम समूहले नृपबहादुर सुनार र थर्क शाहले उम्मेदवारी दिएका छन् । संस्थापनइतर समूहबाट उपसभापतिका दुई पदमा यज्ञनिधि कोइराला र लोकराज आगोले उम्मेदवारी दिएका छन् । सचिवमा देवानन्द जैसी र नवराज जोशीले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन समितिका लक्ष्मी ओझाका अनुसार आइतबार बिहान ८ बजेदेखि मतदानको कार्यसूची छ । कैलाली जिल्लाको कार्य समितिका ६९ सदस्यसहित पदाधिकारीका निर्वाचन हुन लागेको छ । निर्वाचन हुन नसकेका ३ वटा निर्वाचन क्षेत्रका महासमिति सदस्य र दुई जना महाधिवेशन प्रतिनिधिको पनि निर्वाचन हुँदै छ ।
संस्थापनइतर पक्षले आफ्नो उपस्थिति जनाउनका लागि मात्रै उम्मेदवारी दिएको भए पनि प्रतिस्पर्धा संस्थापनका बम र भट्टबीच हुने देखिएको छ । कुल २५ सय ७२ मतदातामध्ये संस्थापनइतर समूहको करिब ५ सयको हाराहारीमा मात्रै मत छ । संस्थापनले आधिकारिक उम्मेदवारका विरुद्ध बमलाई निर्वतमान सभापति नरनारायण शाहले अघि सारेको कांग्रेस कार्यकर्तामाझ चर्चा छ ।