गोदावरी नगरपालिकाका एक जनाको कोरोना संक्रमणबाट मृत्यु हुनुका साथै संक्रमण फैलिने क्रम तिब्र भएपछि आजदेखि गोदावरी नगरक्षेत्र पूर्ण रुपमा लकडाउन गरिएको छ । कोरोनाको संक्रमण बढ्दै गएपछि कैलालीको नगर क्षेत्र पूर्ण रुपमा बन्द गर्न स्थानीय सरकार र व्यवसायीहरुको साझा संस्था उद्योग वाणिज्य संघबीच नगरक्षेत्र सील गर्ने सहमती भएपछि आजदेखि बजार क्षेत्र बन्द भएको छ ।
अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देवकोटाले नगर क्षेत्रमा संक्रमण बढ्दै गएका कारण केही दिनका लागि बजार व्यवसाय बन्द गर्न गोदावरी नगरपालिकालाई अनुरोध गरिएकोमा समझदारी भएको बताए । उनले तत्काल १५ दिनका लागि अत्यावश्यक बाहेकका सबै व्यवसाय बन्द गर्ने गोदावरी नगरपालिका लगायतका निकायसँग समझदारी भएको जानकारी दिए ।
नगरपालिका नगर प्रमुख हरी सिह साउँदले जारी गरेको अपिल पत्रमा संक्रमणबाट एक जनाको मृत्यु समेत भईसकेको र संक्रमण बढ्दै गएका कारण भीडभाडले जोखिम बढ्ने भन्दै अत्यावश्यक बाहेकका पसलहरु बन्द गर्न अनुरोध गरिएको छ । जेठ ३२ गते कोरोना पुष्टि भएका गोदावरी १ का ४६ बर्षिय पुरुषको मृत्यु भएपछि परिवारमा समेत कोरोना संक्रमण फैलिएको कारण समुदाय नै जोखिममा पर्न सक्ने भन्दै बजार ब्यबसाय बन्द गर्ने निर्णय गरिएको नगर प्रमुख हरिसिंह साउदले बताए । यसअघि डडेल्धुराको गन्यापधुरा गाउपालिका र डडेल्धुरा सदरमुकाम समेत सिल गरिएका छन ।