सुदूरपश्चिममा बन्दको आंशिक प्रभाव, महेन्द्रनगरमा दुई प्रर्दशनकारी घाइते
2022/02/28, 1:09
 
dd

सुदूरपश्चिममा बन्दको आंशिक प्रभाव देखिएको छ । ठुला सवारीका साधान नचलेपनि साना सवारी साधन चलेका छन् भने केही बजारका पसल समते खुलेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार बन्दकर्ताले आज लामो दुरीका सवारी साधन, विद्यालय कलेज, बजार व्यवसाय बन्द गर्न आह्वान गरेका छन् भने परीक्षा तथा अत्यावश्यक सेवाका गाडीहरु भने चल्न दिने बताएका छन्। ६ दल र २ मोर्चासँगको अनौपचारिक छलफलका क्रममा उनीहरुले सो कुरा बताएका प्रवक्ता जोशीले बताए ।

एमसीसी अनुमोदनको बिरोधमा उत्रिएका नेत्र बिक्रम चन्द ‘विप्लव’ निकट नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तामामाथि महेन्द्रनगरमा भने प्रहरीले लाठी चार्ज गरेको छ । प्रहरीको लाठी चार्जबाट २ जना घाइते भएका छन् ।विप्लव निकट युवा संगठन कञ्चनपुरका उपाध्यक्ष दिपेन्द्र ऐरी र अखिल क्रान्तिकारी कञ्चनपुरका सचिव हरिष ऐरी घाइते भएको अखिल क्रान्तिकारीका केन्द्रीय सचिव बिरेन्द्र शाहले बताए । उनका अनुसार घाइतेहरुको महाकाली अस्पतालमा उपचार भइरहेको छ ।

शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको उनले बताए । ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित ६ दल र दुई मोर्चाले आज नेपाल बन्द गरेका छन् । विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, ऋषि कटेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजीत नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले एमसिसी खारेजीको माग राखेका छन् ।