नेपाली काङ्ग्रेस कैलालीको सभापति चयनका लागि दोस्रो चरणको निर्वाचन फागुन १९ गते हुने भएको छ । जिल्ला सभापतिको दौडमा रहेका प्रकाश बम, नारायणदत्त भट्ट र निर्वाचन समितिबीच भएको छलफलले १९ गते दोस्रो चरणको निर्वाचन गर्ने टुङ्गो लगाएको हो । मङ्गलबार छलफल भएको थियो ।
काङ्ग्रेस सभापति चयनका लागि दोस्रो चरणमा प्रतिस्पर्धा गर्न योग्य भएका बम र भट्ट दुवै जना संस्थापन पक्षका हुन । संस्थापन इतर पक्षबाट सभापतिमा उम्मेदवारी दिएका रामबहादुर कलेल भने पहिलो चरणबाट बाहिरिएका छन् ।
पहिलो चरणको निर्वाचनमा सभापतिका उम्मेदवार तीनै जनाले ५० प्रतिशतभन्दा बढी मत पु¥याउन सकेनन् । काङ्ग्रेसको विधान अनुसार सभापतिमा जित्नका लागि एक हजार २४३ अर्थात ५० प्रतिशतभन्दा बढी मत अनिवार्य रुपमा ल्याउनु पर्ने थियो । तर, तीनै जना उम्मेदवारको पक्षमा विधान अनुसार मत नपरेपछि सभापति चयनका लागि दोस्रो चरणको निर्वाचन हुने भएको हो । जम्मा दुई हजार ४८५ मत खसेको थियो ।
पहिलो चरणको निर्वाचनमा सभापतिका उम्मेदवार प्रकाश बमले एक हजार १६९ मत र निकटतम् प्रतिद्वन्द्वी नारायणदत्त भट्टले एक हजार ७२ मत प्राप्त गरे । सभापतिमा विजयी हुनका लागि एक हजार २४३ मत ल्याउनु पर्ने थियो । तर, बमको ७४ र भट्टको १७१ मत सभापतिको कुर्सीसम्म पुग्नका लागि कम भयो । सभापतिका अर्का उम्मेदवार रामबहादुर कलेलले १९७ मत प्राप्त गरे । कम मत प्राप्त गरेका कलेल सभापति होडबाट बाहिरिएपछि अब, बम र भट्टबीच प्रतिस्पर्धा हुनेछ ।
सभापति होडबाट बाहिरिएको संस्थापन इतरपक्ष नै अब काङ्ग्रेस कैलालीको सभापति जिताउनमा निर्णायक देखिएको छ । सो पक्षका उम्मेदवार कलेलले प्राप्त गरेको १९७ मत एकमुष्ट रुपमा बम वा भट्ट जसको पक्षमा गए पनि जितको लागि काफी हुनेछ । संस्थापन इतर पक्षको भोट निर्णायक हुने भएपछि सभापतिका उम्मेदवार पक्षहरु संस्थापनको साथको लागि कसरत गर्न थालेका छन् । दुवै उम्मेदवारले सहयोग गर्नका लागि आग्रह गरिरहेको संस्थापन इतर पक्षका नेता भक्त चलाउनेले बताए ।
‘हाम्रो पक्षको भोट निर्णाय बन्ने भएपछि दुवै उम्मेदवारले सम्पर्क गरेर सहयोग गर्न आग्रह गरिरहनु भएको छ । बरु, के कुरामा मिलाउनुपर्छ, हामी मिलाउँछौं भनिरहनु भएको छ’, उनले भने । ‘हामी छलफल गरिरहेका छौं । अधिकतम् सहमति भएका उम्मेदवारलाई सहयोग गर्छौ।’
कैलालीमा क्षेत्र नम्बर २ मा संस्थापन इतर पक्षको सङ्ख्या बढी छ । सो क्षेत्रमा १६० भन्दा बढी इतर पक्षको मत रहेको जनाइएको छ । बाँकी १ देखि ५ निर्वाचन क्षेत्रमा यो पक्षको सङ्ख्या निकै कम छ । संस्थापन पक्षकै दबदबा रहेको छ ।सभापतिका उम्मेदबार बमलाई नेपाली काङ्ग्रेस कैलालीका निवर्तमान सभापति नरनारयाण शाह ‘मनु’ को समर्थन रहेको जनाइएको छ । यस्तै, भट्टसहित उनको प्यानललाई धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड, उपप्रमुख सुशीला मिश्र भट्ट, इश्वरी न्यौपाने, जीवन राना लगायतका केन्द्रीय सदस्यहरुको समर्थन रहेको छ । धेरै जसोले भट्टको पक्षमा नेता र बमको पक्षमा कार्यकर्ता रहेको टिप्पणी गरेका छन् । उनीहरुले कार्यकर्ताले पत्याएका बमको जित लगभग सुनिश्चित रहेको बताएका छन् ।
बम निरन्तर ४ कार्यकालदेखी नेपाली कांग्रेस कैलालीको नेतृत्वमा छन् । कैलालीमा उनी शालिन, भद्र, सबैको पहुँच पुग्नसक्ने नेता, कार्यकर्ताको भावनानुसार चल्नसक्ने नेतृत्वको छवि बनाएका छन् ।
२०१५ सालमा डोटीको बर्छेन गाउँपञ्चायत ४ (हालको बड्डिकेदार) जन्मेका बम हाल कैलालीको गौरीगंगा नगरपालिका– २ चौमालामा बस्दै आएका छन् । २०३६ सालदेखि काङ्ग्रेसी राजनीतिमा प्रभावित उनी २०४२ मा काङ्ग्रेसकै उम्मेदवारका रुपमा चुनाव जितेका थिए । यो जितपछि उनी राजनीतिको मैदानमा उनी अझ सक्रियताका साथ उत्रे ।
यसैगरी, अर्का उम्मेदवार भट्ट जनआन्दोलनका घाइते पनि हुन । उनी, जिल्लामा उपसभापति भएर काम गरिसकेका छन् । भट्टलाई धेरै जसो नेताहरुको समर्थन रहेको छ ।