डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि देशविदेशबाट सहयोग जुट्ने कार्य जारी छ । लक डाउनका कारण पेशा र व्यवसाय नै संकटमा परेपनि यो अभियानमा सुदूरपश्चिमका बिभिन्न पेशा र व्यवसायमा आवद्ध व्यक्तिहरुले सहयोग गरेका छन् ।
कैलाली बहुमुखी क्याम्पसमा कार्यरत प्राध्यापकहरुले शुक्रवार क्याम्पसमै बोलाएर पीसीआर मेसिन खरीद अभियानको अगुवाई गरिरहेको ह्युमानिटी फाउण्डेसनका सदस्यहरुलाई बोलाएर सहयोग गरे ।
पब्लिक क्याम्पस प्राध्यापक संघ कैलाली बहुमुखी क्याम्पस एकाई समितिका सभापति डा. लोक बहादुर बिष्टले प्राध्यापकहरुका तर्फबाट स्वर्फुत ढंगले संकलित एक लाख एक हजार रुपैया ह्युमानिटी फाउण्डेसनका अध्यक्ष श्याम तायललाई हस्तान्तरण गरे ।
विपत्तिको समयमा समाजलाई सक्दो सहयोग गर्नु आफ्नो दायित्व ठानेर डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि कैलाली बहुमुखी क्याम्पसका प्राध्यापकहरुले आर्थिक संकलन गरी एकमुष्ठ प्रदान गरिएको अध्यक्ष बिष्टले बताए ।
कैलाली बहुमुखी क्याम्पसका प्रमुख डा. पदमराज जोशीले प्राध्यापकहरुबाट प्रदान गरिएको रकम सदुपयोग हुनेमा विश्वास व्यक्त गर्दै डडेल्धुरामा पीसीआर मेसिन स्थापना भएमा सुदूर पश्चिमका पहाडी जिल्लाका बासिन्दाको कोरोना परीक्षणमा निकै सहज हुने बताए ।
सहयोग हस्तान्तरण कार्यक्रममा कैलाली बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख धर्मराज उपाध्याय, सहायक क्याम्पस प्रमुख डा. केशवराज भट्ट, प्लस टु संयोजक आत्माराम भट्ट, नेपाल प्राध्यापक संघका केन्द्रीय कोषाध्यक्ष सहायक प्राध्यापक देवराज अवस्थी, प्रगतिशिल प्राध्यापक संगठन कैलाली बहुमुखी क्याम्पस अध्यक्ष मोहनसिंह साउँद, पब्लिक क्याम्पस प्राध्यापक संघका केन्द्रीय सदस्य मान बहादुर जोरा, प्रजातान्त्रिक प्राध्यापक संघ कैलाली बहुमुखी क्याम्पस सचिव खड्क पछेरा, उपप्राध्यापक प्रेमराज भण्डारी, लाईब्रेरी अधिकृत टोपराज ढुंगाना, प्रशासन नायव सुब्बा सुरत बोगटी लगायतको सहभागिता रहेको थियो ।
ह्युमानिटी फाउण्डेसनका अध्यक्ष श्याम तायलले पीसीआर मेसिन स्थापनाका लागि सहयोग गरेकोमा कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरु प्रति आभार व्यक्त गरे ।