धनगढी विमानस्थल क्षेत्रीयस्तरमा स्तरोन्नतिका लागि आवश्यक पर्ने जग्गाको सर्भे सम्पन्न भएको छ । धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले नागरिक उड्डयन प्राधिकरणले जग्गा सर्भेका लागि खटाएको टोलीले काम सम्पन्न गरी फर्किइसकेको बताए ।
फिल्डमा सर्भे टोलीले निकालेको तथ्यांक र नापीसँग भएको डिजिटल नक्सालाई अहिले मिलाउने काम भएको उनले बताए । अधिग्रहणको काम भने जेठदेखि सुरु हुन सक्ने बताउदैँ मन्त्री परिषद्को बैठकले प्रारम्भिक जग्गा अधिग्रहण अधिकारीसमेत तोकिसकेको उनले बताए।
उनका अनुसार क्षेत्रीय विमानस्थलका लागि आवश्यक पर्ने २ सय ५८ बिघा जग्गा अधिग्रहण गरिने छ । यसभित्रका भौतिक संरचनालगायत अन्य निजी र सरकारी सम्पत्तिको समेत विवरण लिने काम कन्सल्टेन्सीद्वारा नै भइरहेको बताए । मुआब्जा निर्धारण समितिको जिम्मा भने प्रमुख जिल्ला अधिकारीलाई दिनुपर्ने प्रावधान छ ।
नागरिक उड्डयन प्राधिकरण क्यानको ३९२औं बैठकले धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा विस्तार गर्न नक्सा पारित गर्ने निर्णय गरेको थियो । उक्त बैठकबाटै आवश्यक पर्ने २ सय ५८ बिघा जग्गा अधिग्रहण गर्ने प्रस्तावसमेत पारित गरेको थियो । अहिले धनगढी विमानस्थलमा १८ सय मिटरको मात्रै धावन मार्ग छ ।
डीपीआर रिपोर्टमा क्षेत्रीय विमानस्थलका रूपमा विकास गर्न २ हजार ५ सय ५० मिटर छुट्टै धावन मार्ग बनाउनुपर्ने प्रस्ताव गरेको थियो । हालको धावन मार्गलाई पार्किङ क्षेत्र बनाइनुपर्ने प्रस्ताव थियो । विमानस्थलका प्रमुख सर्भे टोलीले आवश्यक पर्ने जग्गाका लागि अहिलेको धावन मार्गको पूर्वी सिमानाको उत्तरतर्फ ३ सय ४० देखि ६० मिटर जग्गा अधिग्रहण गर्नुपर्ने भएको छ ।
विमानस्थलको पश्चिमतर्फ ६ सय ५० देखि ७ सयसम्म र दक्षिणतर्फ भने ५० देखि २ सय मिटरसम्म मात्रै जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको भट्टले बताए । प्राधिकरणले चालु आर्थिक वर्षमा १ अर्ब बजेटसमेत विनियोजन गरिसकेको बताए । अधिग्रहणको काम सुरु भएपछि सरकारबाट बजेट व्यवस्था मिलाउन आग्रह गरिने उनले बताए ।