जनताले पैसा उठाएर किनिएको पीसीआर मेसिन डडेल्धुरा पुग्दै
2020/06/20, 1:10
 
korona

डडेल्धुराका लागि ह्युमिनिटी फाउन्डेसन नेपालले खरिद गरेको पीसीआर मेसिन डडेल्धुरा पुग्ने तयारीमा रहेको छ । सो मेसिन ट्रक मार्फत आउन थालेको फाउण्डेसनले जनाएको छ । शुक्रवार काठमाण्डौंबाट हिडेको मेसिन वोकेको ट्रक जाममा परेका कारण डडेल्धुरा पुग्न ढिलाई भएको हो । 

फाउन्डेसनले सुदूरपश्चिम तथा विदेशमा बस्दै आएका समाजसेवी, व्यापारी, बुद्धिजीवी लगायतका दाताहरुबाट संकलन गरिएको रकमले खरिद गरेको मेसिन लिएर काठमाडौँबाट हिडेको ट्रक बाटोमा रहेको छ । ह्युमिनिटी फाउन्डेसन नेपालका अध्यक्ष श्याम तायलले शुक्रबार साँझ मेसिन लिएर ट्रक काठमाडौँबाट हिडेकाले सकभर शनिवार साँझसम्म सुदूरपश्चिम पुग्ने बताए ।

उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले सहजीकरण एवंम समन्वयमा पीसीआर मेसिन खरिदमा फाउन्डेसनले अगुवाई गरेको जानकारी दिए । पीसीआर मेसिन डडेल्धुरा अस्पताललाई हस्तान्तरण गरिनेछ । अस्पतालले नै मेसिनको जडान तथा सञ्चालन गर्नेछ ।

यसैबीच डडेल्धुरा अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर जगदिशचन्द्र विष्टले ह्युमिनिटी फाउन्डेसनले हस्तान्तरण गर्ने पीसीआर मेसिन जडान गरी कोरोना परीक्षण गर्ने तयारीमा वसेको जानकारी दिए । विष्टले तत्कालका अस्पतालमा भएको संचरनामै सञ्चालनमा ल्याउने तयारी भईरहेकोले डडेल्धुरा पुगेको एक हप्ताभित्र  मेसिन जडानको काम सकेर परीक्षण थालिने बताए ।

उनले अहिले अस्पतालमा उपलब्ध जनशक्तीबाट प्रयोगशाला सञ्चालन तथा व्यवस्थापन गरिने भएपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग थप जनशक्ती माग गरिएको बताए ।