कैलालीमा हत्या गरेको अवस्थामा भेटिएको शव भारतीय नागरिकको भएको पुष्टि भएको छ ।
सोमबार बिहान धनगढी उपमहानगरपालिका-५ को शिवनगर–जाइ सडकखण्ड नजिकै भेटिएको शव भारतको उत्तर प्रदेशको साहजापुरका ४२ वर्षीय कुल्दीप गुप्ताको भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले शव गुप्ताकै भएको धनगढी उपमहानगरपालिका–८ को गाउँ धनगढीमा डेरा गरेर बस्दै आएका मृतकका भाइले सनाखत गरेको जानकारी दिए ।
डीएसपी जोशीका अनुसार विगतमा भाइसँगै धनगढीमै ज्याला मजदुरी गर्दै आएका गुप्ता कोरोना महामारीपछि जारी लकडाउनपछि भने भारतको राजस्थानमा परिवारसहित बस्दै आएका थिए ।
गुप्ताको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउँदै प्रहरी नायव उपरीक्षक जोशीले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जानकारी दिए ।