सुदूर तराईमा छाडाचौपायाको समस्या विकराल बन्दै गएको छ । कैलाली र कञ्चनपुरको राजमार्गसँग जोडिएका स्थानीय तहमा छाडाचौपायाको समस्या झन बढी छ । छाडाचौपायाको व्यवस्थापन लागि स्थानीय तहहरुले प्रयास गरेपनि प्रभावकारी हुन् सकेको छैन् ।
यसले राजमार्गमा सवारी दुर्घटनाको जोखिम समेत बढाएको छ । छाडाचौपाया व्यवस्थापनका लागि स्वामि पिताम्वर महाराजजीले गौरक्षा अभियान चलाएका छन् । उनले मंगलबार महाकाली–मेची पद यात्रा थालनी गरे ।
कञ्चनपुरको महाकाली नदी किनारमा स्थापना गरिएको ‘हरिहर स्नानघाट’बाट जल लिएर उनले काली–मेची पैदल यात्रा सुरु गरेका हुन् । आज (फागुन २४ गते) सुरु गरिएको पैदल यात्रा तथा गौरक्षा अभियान ३० दिनसम्म चल्नेछ । महाकाली नदीबाट लिएको जललाई बाटोमा पर्ने मठमन्दिरमा चढाउने उनको लक्ष्य छ ।
स्वामीले पैदल यात्राका क्रममा गाईको अलौकिक महत्वबारे विभिन्न विश्राम स्थलका स्थानीयलाई जानकारी गराउने छन् । प्राचिन कालमा ऋषिमुनीहरुले गाईलाई आमाको दर्जा दिएका थिए । गाईको धार्मिक तथा बैज्ञानिक महत्व रहेकाले गौरक्षा गर्नुपर्नेमा उनले जोड दिए ।
स्थानीय सरकारले गाईगोरुको व्यवस्थापनमा करोडौं रकम खर्च गरेपनी समस्या ज्यूका त्यू रहेको उनको भनाई छ । ‘गाईगोरु व्यवस्थापनका नाममा जनताको पैसा खर्च गरियो,’ उनले भने, ‘सिमित स्वार्थ भएका व्यक्तिहरुलाई बजेट दियो, गाईमाताहरुको अहिले पनि बिचल्ली छ । सरकारले गौरक्षाबारे ठोस निति बनाउनुपर्छ ।’