महाकाली नदीको धार परिवर्तन गर्न नेपाली क्षेत्रमा भारतीय जेसिबी, स्थानीयद्वारा प्रतिकार
2022/03/08, 7:48
 
s

भारतले दार्चुला सदरमुकाम खलंगाको पारिपट्टि महाकाली नदी किनारमा पक्की तटबन्ध निर्माण गरिरहेको छ । मंगलबार महाकाली नदीको धारलाई नेपाल तर्फ फर्काउँदै भारतीय जेसीबी  नेपाली क्षेत्रमा पुगेपछि स्थानीयले प्रतिकार गरेका हुन् । दार्चुला सदरमुकाम क्षेत्रको बंगाबगडको महाकाली नदी किनारमा भारतीय जेसिबी महाकाली नदी उत्खनन् गर्दै नेपाली क्षेत्रमा पुगेपछि स्थानीयहरुले ढुंगामुढा गरी बिरोध गरेका छन् ।

दार्चुला सदरमुकाम खलंगा क्षेत्रको महाकाली नदी किनारमा ५ किलोमिटर पक्की तटबन्ध बनाइएको छ । भारतले पनि यहाँको जस्तै आफ्नै भु–भागमा तटबन्ध निर्माणको काम गरिरहेको सशस्त्र प्रहरी बल नेपाल ४४ नम्बर गणका गणपति एसपी त्रिभुवन विष्टले बताए । भारतीय जेसिबी नेपाली क्षेत्रमा आएर महाकाली नदी नेपालतर्फ फर्काउने काम गरिरहेको भन्दै स्थानीयहरुले प्रतिकार गरेपछि एसपी विष्टको नेतृत्वमा सशस्त्र प्रहरी टोली उक्त क्षेत्र पुगेको थियो । 

‘जेसिबि नेपाली क्षेत्रमा प्रवेश गरेपछि स्थानीयले सांकेतिक रुपमा ढुंगामुढा पनि गरेछन् । तटबन्ध निर्माण भइरहेको भारतको क्षेत्रमा महाकालीको बहाव बढी भएकाले अस्थायी रुपमा नदीको पानी नेपाल तर्फ फर्काउन खोजिएको रहेछ’ उनले भने । यसबारे भारतीय एसएसबी कमाण्डेन्ट महेन्द्र प्रतावलाई जानकारी गराएको एसपी विष्टले बताए । एसएसबीले जानकारी पाएपछि उक्त स्थलमा पुगेको थियो । 

तटबन्ध निर्माणमा भारतीय प्रशासनले नेपालको प्रशासन संग समन्वय नगर्दा यस्तो समस्या आएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको भनाइ छ । महाकाली किनारमा निर्माण भइरहेको तटबन्धको संरचना लगायतका विषयमा जानकारी गराउन भारतीय पक्षलाई अनुरोध गरिएको भएपनि हालसम्म जानकारी नगराएको उनले बताए । ‘​महाकाली सीमा नदी भएकाले नेपाली पक्षलाई त्यसबारे जानकारी गराइनु पर्थ्यो’ प्रमुख जिल्ला अधिकारी उपाध्यायले भने ।