कैलाली प्रहरी भन्यो, ‘मनोज भण्डारीको भिडियो पुरानो हो, अहिलेको होईन्’ 
2022/03/09, 7:34
 
ss

कैलालीमा २५ वर्षीय अर्जुन दासको हत्या गरी फरार चार अभियुक्तले फेसबुकमा भिडियो राखी आफूहरूलाई पक्रेर देखाउन प्रहरीलाई नै चुनौती दिएको भिडियो अहिलेको नभएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार सो भिडियो घटना भएको केहि दिन पछिको रहेको जनाएको छ ।  भिडियोमार्फत मुख्य अभियुक्त भनिएका मनोज भण्डारी सहित केही युवाहरूले आफूहरूको पछि नलाग्न भन्दै भिडियो मार्फत धम्की दिएका थिए । तर अहिले मिडियामा आएको  सो भिडियो हत्या घटनाको केही दिन लगत्तै प्रहरीले प्राप्त गरेको बुझिएको छ ।

घटनापछि अभियुक्तहरु भारततिर भागेको दुईरतीन दिनमा भारतबाटै एउटा फेसबुक आइडीमा सो भिडियो अपलोड गरेको पाइएको प्रहरी नायब उपरीक्षक जोशीले बताए । ‘जसरी आज सो भिडियो मिडियामा आयो तर त्यो भिडियो पुरानो हो, प्रहरी नायब उपरीक्षक जोशीले भने,‘पछि त्यो फेसबुक आइडी नै लक गरियो । भिडियो जारी गर्ने व्यक्ति अभियुक्त भनिएकै व्यक्ति रहे पनि यो भिडियो चाँही अहिलेको होइन ।’

अहिले भिडियो फेरि कसरी सामाजिक सञ्जालमा आयो भन्ने सन्दर्भमा सर्भरसंग बुझ्ने कार्य भइरहेको प्रहरी नायब उपरीक्षक जोशीले बताए । जानकी गाउँपालिका–९ का २५ वर्षीय दासकागएको पुस पहिलो साता दासको घाँटी रेटेर टाउको छिनालेको अवस्थामा शव फेला परेको थियो । स्थानीय अमरावती सामुदायिक वनमा नग्न अवस्थामा घाँटी रेटेर टाउको अलग पारिएको अवस्थामा शव फेला परेको हो ।

हत्यापछि अरुणलाई आफूहरूले मारेको भन्दै मनोज भण्डारी नामका एक व्यक्तिले आफूनिकट एक जनालाई गरेको टेलिफोन संवाद सार्वजनिक भएको थियो । सोही अडियोको आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । हत्या प्रकरणमा प्रहरीले मुख्य अभियुक्त भनिएका भण्डारीलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन ।