संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले आफू सरकारको कुर्सीमा बसुन्जेलसम्म सुदूरपश्चिम प्रदेश लगायत जनताका शीर न निहुरिने गरी आफूले काम गर्ने बताएका छन् ।
धनगढीस्थित क्षेत्रीय रंगशालामा आज सुदूरपश्चिम खप्तड गोल्डकप समापन समारोहलाई सम्बोधन गर्दै उनले आफूले जनताका शीर न निहुरिने गरी काम गर्ने बताएका हुन । ‘मलाई मेरो पार्टीका श्रद्धेय नेता माधव नेपालले यो जिम्मेवारी दिनु भएको छ । म सरकारमा मन्त्रीको रुपमा रहेको पाँच महिना पुग्दैछ । तर, जति दिन यो कुर्सीमा बस्छु ।सुदूरपश्चिम लगायतका जनताको शीर न निहुरिने गरी यो मगरको छोरोले काम गर्नेछ ।’ उनले भने ।
मन्त्री आलेले आफू सत्तामा रहुन्जेलसम्म देश र जनताका लागि काम गर्ने बताएका छन् । ‘म सधैभरि सत्तामा हुँदैन । तर, जति दिन सत्तामा हुन्छु । देश र जनताका निमित्त काम गर्नेछु ।’ विगतमा धेरै जना पर्यटनमन्त्री भए पनि सुदूरपश्चिको लागि केही गर्न नसकेको उल्लेख गर्दै मन्त्री आलेले आफूले धनगढी विमानस्थल लगायत कैयौं सुदूरपश्चिमका कैयौं विमानस्थलका लागि बजेट विनियोजन गरेको बताए ।
राज्यबाट पछाडि पारिएको सुदूरपश्चिम प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको फुटबलको आयोजना हुनु चानचुने कुरा नरहेको उल्लेख गर्दै उनले आयोजकको प्रशंसा गरे । मन्त्री आलेले धनगढी रंगशालामा रात्रिकालीन खेल हुने गरी स्तरोन्नति आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि बजेट छुट्टयाउन आफूले सम्बन्धित मन्त्रीलाई आग्रह गर्ने बताए । ‘अपुग बजेटको व्यवस्था म मेरो मन्त्रालयबाट गर्छु’, उनले भने ।