कांग्रसको चुनावी अभियान : सुदूरपश्चिम पुगे केन्द्रीय प्रतिनिधि
2022/03/13, 11:52
 
da

नेपाली कांग्रेसले देशभर सञ्चालन गर्न लागेको चुनाव केन्द्रित प्रचार अभियानमा केन्द्रले खटाएको प्रतिनिधि सुदूरपश्चिम आइपुगेका छन् । अभियानका लागि सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधि आइपुगेका हुन् ।

स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान शुरु भएको हो । केन्द्रीय प्रतिनिधिहरुमा बैतडीका लागि यज्ञराज जोशी, डडेल्धुरामा ईश्वरी न्यौपाने, कैलालीमा गोविन्दबहादुर शाह, कञ्चनपुरमा नैनसिंह महर, बझाङमा रमेश लेखक, अछाममा सीताकुमारी राना, बाजुरामा अर्जुनजंगबहादुर सिंह, दार्चुलामा अरुण राठौर र डोटीमा किरण गिरी रहेका छन् । कांग्रेसले स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी फागुन २९ देखि चैत २९ गतेसम्म अभियान हुने नेपाली कांग्रेसका जिल्ला सचिव देवराज जोशीले जानकारी दिए  ।

फागुन २९ गते सदरमुकाममा एक कार्यक्रमकाबीच अभियानको शुभारम्भ गरिने नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बताए । ‘आगामी चुनावलाई लक्षित गर्दै अभियान सञ्चालन गर्न लागेका हौं । कांग्रेसको सिद्धान्त, निती र विचारलाई आम मानिसमा पु¥याउन सहयोग गर्छ । कांग्रेसको पक्ष जनमत जुटाउन पनि सहयोग पुग्छ ।’ 

स्थानीय निर्वाचनमा कांग्रेसलाई विजयी गराउन वडा र टोल तहसम्म पार्टीभित्र सौहार्दता, एकता र ऊर्जा अभिवृद्धि गर्ने, कांग्रेसका उम्मेदवारलाई विजयी गराउन मतदातालाई अपिल गर्ने अभियानको उद्देश्य रहेको छ । नेपाली कांग्रेस जनतालाई आफ्नो कुरा सुनाउन मात्र नभएर जनताको कुरा सुन्न पनि घर–घरमा जान लागेको चन्दको भनाइ छ ।