कैलालीमा जब सडकछेउमै बेवारिसे अवस्थामा भेटियो सरकारी कागजपत्र
2022/03/14, 2:41
 
da

शुक्रबार वडा नम्बर १ को कार्यालयसँग आवश्यक कागजपत्र गाउँपालिकाको कार्यालयमा पुर्‍याउन भनी महालेखापरीक्षकको टोलीबाट अनुरोध भयो । कार्यव्यस्तताका कारण वडासचिवले सोही दिन गाडीमा कागजपत्र नपठाई कठ्ठामा राखेर आफ्नो कोठामा राखे ।

शनिबार बिहानै उनले गाडीमा राखेर ती कागजपत्र गाउँपालिकामा पुर्‍याउन जिम्मा लगाए । तर, गाडीले गाउँपालिकाभन्दा सय मिटरको दूरीमा रहेको एक होटलको छेउमै रहेको बस्न बनाइएको काठमा राखी हिँड्यो ।

केही दिनदेखि आर्थिक वर्ष २०७७–७८ को लेखापरीक्षण गर्न महालेखापरीक्षकको टोली चुरे गाउँपालिकाको कार्यालय घरखेडामा छन् । वडा कार्यालयबाट माग गरिएका कागजपत्र दुई दिनदेखि गाउँपालिकाको कार्यालयभन्दा एक सय मिटर वर सडकछेउमा बेवारिसे अवस्थामा राखिएको छ ।

शनिबार सरकारी बिदा भएकाले स्थानीयहरुले कठ्ठा बेवारिसे अवस्थामा देखेपछि कसैले भुलेर हिँडेको हुनसक्ने भन्दै ध्यान दिएनन् । आइतबारसम्म त्यो कठ्ठा लिन कोही नआएपछि सोही वडामा बसोबास गर्दै आइरहेका मनिराम आचार्यले कठ्ठा खोल्दा वडा नम्बर १ ले आर्थिक वर्ष २०७७–७८ मा संकलन गरेको राजस्वको नगदी रसिद र मालपोत फाराम देखे ।

उनले सरकारी कागजपत्र भएको थाहा पाएपछि स्थानीय प्रहरी प्रशासनलाई जानकारी गराएको बताए । ‘प्रहरीले मुचुल्का बनाउँदै थियो । तर, बीचमै रोकेर ती कागजपत्र नलगी गयो’, उनले भने, ‘प्रहरीले पनि नबुझेपछि मैले पसल लगेर राखेँ ।’

वडा कार्यालयको कागजपत्र बेवारिसेबारे जनप्रतिनिधि, कर्मचारी सबैले जानकारी पाए तर, ती सामग्री बुझ्न भने कोही गएनन् । ‘गाउँपालिकाअध्यक्ष धनबहादुर रोक्का मगर, प्रमुख प्रशासकीय अधिकृत नन्दलाल पाण्डेयलगायत सबैलाई जानकारी गराए । अध्यक्षज्यू आएर हेरेर जानुभयो । अधिकृतज्यूले प्रहरीलाई मुचुल्का बनाई जिम्मा लिन भन्नुभयो’, उनले भने ।

गाउँपालिका जानकारी हुँदा पनि बुझ्न नआउनु र सडक छेउमै बेवारिसे छोड्नुमा सोही क्षेत्रका स्थानीयहरुले कागजपत्र नष्ट गर्ने उद्देश्यले सो कार्य भएको आशंका व्यक्त गरे । नगदी रसिदका ठेली २४ थान रहेकोमा २२ थान प्रयोग भएको र १९ थान मालपोत तिरेको रसिद रहेको छ ।

‘जनताले तिरेको कर रसिद यसरी वेवारिसे राखिएको छ । शनिबारको दिन छ । कार्यालयमा सेवाग्राही कोही आउँदैनन । सोही दिन कार्यालयबाट कागजपत्र किन बाहिर निकालेका हुन । पठाउने मान्छेले चासो राखेको देखिएन । सञ्चारमाध्यमको युगमा पठाउने मानिसले पाउने मानिसलाई पनि सम्पर्क गरेको देखिएन’ उनले भने –‘लेखाश्रेष्ता राख्ने भनेपछि फाईल भेटिन्छन् । खातापाता सबै भेटिन्छन भनेर नष्ट गर्ने सोचले राखिएको हो भन्ने हाम्रो आशंका रहेको छ ।’ स्थानीय नवराज भट्टले जनताले विकास हुन्छ कि भनेर छाकबाट तिरेका करको अपमान भएको बताए ।

‘कुनै ठाउँमा पठाउन लगिएको हो भने शनिबार थियो । सो दिन सबै कार्यालयहरु बन्द हुन्छन् । यो कहाँबाट आयो र कहाँ जाँदै थियो । यसको लेखाजोखा हामी कसैसँग छैन’, उनले भने, ‘सायद गलत नियतका साथ कुनै ठाउँमा फाल्दिनका लागि गरिएको हो कि । यत्रो ठेली छन् । यत्रो ठूलो रकम छ । त्यो लगेर कुनै खोलामा फालिदियो भने भोलिको जवाफदेही को हुने त ?’ उनले भ्रष्टाचारका प्रमाण लुकाउन नष्ट गर्ने मनसायले गरिएको हुन सक्ने आशंका व्यक्त गरे ।

वडाअध्यक्ष हुकुम बोहराले गाउँपालिकामा कार्यरत कर्मचारी किरण नेपालीले आफूले बुझ्ने भन्दै शुक्रबार सो कागजपत्र गाडीमा पठाउन आग्रह गरेको बताए ।

‘वडा सचिव हेमबहादुर विष्टलाई शुक्रबार नै कर्मचारी किरणले गाडीमा कागजपत्र पठाउन भनेको रहेछ । सो दिन वडासचिवले पठाउन सकेनन् । शनिबार बिदा थियो । किरण पनि घर गएका रहेछन् । वडासचिवले गाडीवालाको जिम्मा लगाएर पठाएका रहेछन्’, उनले भने, ‘वडासचिवले होटलवालालाई बुझाइदिन भनी गाडीवालालाई मात्र भने तर, होटलमा जानकारी भएन । सामान होटलछेउमै रह्यो । केही राजनीतिक दलका लागि त्यो विषय ठूलो भयो । आइतबार बिहान किरणले लिन जाँदा जिम्मा लगाइएन ।’