माओवादी केन्द्रको प्रदेश स्तरीय प्रशिक्षण
2022/03/15, 1:29
 
ss

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को सुदूरपश्चिम प्रदेश स्तरीय राजनीतिक र वैचारिक प्रशिक्षण धनगढीमा सम्पन्न भएको छ ।सोमबार सो पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा प्रशिक्षण भएको हो ।

प्रशिक्षण कार्यक्रमलाई माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट, सुदूरपश्चिम अध्यक्ष हरिप्रसाद चौधरी ‘उत्सव’, सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट लगायतकाले सम्बोधन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले स्थानीय तहको चुनावका लागि तयार रहन नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले समाजवादी क्रान्तिका लागि तयार रहन सुदूरपश्चिम प्रदेशका माओवादी नेताहरुलाई अपिल गरे ।

सुदूरपश्चिमको आवश्यकता परिपूर्तिका लागि यसलाई एउटा प्रदेश बनाइए पनि त्यतिलेमात्रै नपुगेकोले समाजवादी क्रान्ति र समाजवादी यात्रा अपरिहार्य रहेको प्रचण्डको भनाइ थियो । ‘जबसम्म समाजवादीको यात्रामा अगाडि बढ्नु हुन्न तबसम्म संयौं वर्षदेखिको विभेद कायम रहिरहन्छ । र, सुदूरपश्चिमले समुचित रुपमा आफ्नो अधिकार पाउन सक्दैन ।’, उनले भने । 

पूर्व प्रधानमन्त्रीसमेत रहनु भएका अध्यक्ष प्रचण्डले समता र समानतामूलक समाजको सन्देश दिने ठूलो जिम्मेवारी सुदूरपश्चिमसामू रहेको बताए । ‘म यहाँका नेताहरुलाई गम्भीरताका साथ विचार गर्न आग्रह गर्दछु’, उनले आग्रह गरे । ‘नयाँ पार्टी, विचार र समाजवादको मोडेल निर्माण गर्ने प्रक्रियामा तपाईहरुले आफ्नो क्षमताको कृतिमान बनाउनु पर्ने आवश्यक छ ।’ अध्यक्ष प्रचण्डले सङ्कल्प गरेमा केही कुरा असम्भव नरहेको पनि उल्लेख गरे । 

जनवादी क्रान्तिका लागि अग्रणि भूमिका निर्वाह गरेको सुदूरपश्चिमलाई समाजवादी क्रान्तिको आधार इलाकाको रुपमा स्थापित हुन ठूलो अवसर रहेको उनको भनाइ थियो । प्रचण्डले इतिहासदेखि नै काठमाण्डौंले सुदूरपश्चिमलाई विभेद गरेको उल्लेख गर्दै भन्दै–‘अब समाजवादको आधार निर्माण गरेर काठमाण्डौंलाई एउटा सन्देश दिने अवसर सुदूरपश्चिमलाई छ ।’

उनले आफू गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुने बित्तिक्कै सबैभन्दा बढी पटक सुदूरपश्चिममा आएको र सुदूरपश्चिमका जनताका सवाललाई सम्बोधन गर्ने प्रयास गरेको बताए । ‘त्यो बेला मैले जे गरे ठीकै गरेको लाग्छ’, उनले भने । ‘तर, त्यतिलेमात्रै पुगेको छैन । अब समाजवादी क्रान्तिका लागि सुदूरपश्चिमले आधार इलाका बन्नु पर्नेछ ।  प्रचण्डले केपी शर्मा ओली एकक्लैले संघद् विघटन नगरेको बताएका छन् । एउटा ठूलो षड्यन्त्रअन्तर्गत संसद् विघटन भएको खुलासा गरेका हुन् । साथै अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनलाई समाप्त पार्न देशी तथा विदेशी शक्तिहरूले षड्यन्त्र गर्दै आएको बताएको पनि बताएका छन् ।

‘विदेशी शक्तिहरू जोडिए, देशी शक्तिहरू जोडिए, न्यायालय पनि जोडियो । प्रतिक्रियावादी जोडिए । एउटा ठूलो सेटिङ थियो । यसको उद्देश्य माओवादी नेतृत्वलाई समाप्त गर्ने एउटा डिजाइन गर्न गरिएको षड्यन्त्र थियो । यसको निशाना माओवादी केन्द्र थियो । माओवादी जनयुद्धको बलमा प्राप्त संघीय समानुपातिक उपलब्धिलाई उल्ट्याउने सेटिङ अन्तर्गतको षड्यन्त्र थियो । यो संघर्षमा केपी ओली एउटा माध्यम थिए,’ उनले भने । 

जनता आँधीहुरीजस्तै ओइरिएपछि यो देशी–विदेशी सेटिङ असफल भएको उनको भनाइ छ । संसद् विघटनविरुद्ध माओवादी केन्द्रले निर्णायक भूमिका खेलेको प्रचण्डले बताए । नेतृत्वले सशक्त भूमिका नखेलेको भए प्रतिगमन परास्त हुने अवस्था नरहेको उनले बताए ।दोस्रोपटकसमेत प्रतिगमनकारीहरूले संविधानमाथि प्रहार गरेर संसद् विघटन गरेपछि कोरोनाका कारण आन्दोलन सम्भव नभएपछि गठबन्धनको निर्माणको पहल गरिएको उनले बताए ।

‘माधवजी र मैले बारम्बार शेरबहादुरजीलाई भेटेर प्रधानमन्त्री बनिदिनुस् भनेर धेरैचोटि अनुरोध ग¥यौँ,’ उनले भने । ‘अघिल्लो निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र मधेसका दलहरूले तपाईंहरू पार्टी एकता नगर्नुस्, पाँच वर्ष प्रधानमन्त्री खानुस् भनेर भन्दा मैले नैतिक दृष्टिले त्यो कुरा सम्भव नभएको भन्दै अस्वीकार गरेको हो,’ उनले भने ।