नागरिकता दिन डोटीबाट अछाम
2022/03/16, 12:17
 
aa

जिल्ला प्रशासन कार्यालय अछाम लामो समयदेखि अन्य जिल्लाका कर्मचारीको सहयोगमा चलिरहेको छ । अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी बिदामा भएको बेला नागरिकता र राहदानी दिन कहिले जिल्ला प्रशासन कार्यालय दैलेखबाट कर्मचारी आउँछन्, कहिले जिल्ला  प्रशासन डोटीबाट गृह मन्त्रालयले काजमा कर्मचारी खटाउने गरेको छ । यो प्रक्रिया ७ महिनादेखि चलिरहेको छ  । गत भदौमा सहायक प्रमुख जिल्ला अधिकारी रञ्जनप्रसाद तिमिल्सेना सरुवा भएर गएपछि कार्यालयमा अधिकृतस्तरका कर्मचारी नै छैनन्  ।

२०७६ मंसिर ३ गते बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी उपसचिव तहको प्रमुख जिल्ला अधिकारी रहने १८ जिल्लामध्ये अछाममा पनि सहसचिवको दरबन्दी कायम गरेको थियो । तर सरकारले सहसचिव त के प्रशासन कार्यालयलाई दरबन्दीअनुसारका शाखा अधिकृतसम्म उपलब्ध गराउन सकेको छैन । गत वर्ष सहसचिव पुण्यप्रसाद पौडेललाई अछामका सीडीओ बनाएर गृह मन्त्रालयले पठाएको थियो । उनी पनि ३ महिना मात्रै अछाममा बसे ।

अछाममा सहसचिव तहको सीडीओ, उपसचिव सहायक सीडीओ र प्रशासकीय अधिकृतको दरबन्दी छ । तर अहिले उपसचिव मरासिनी सीडीओ छन् । सीडीओ मरासिनी फागुन २५ गतेदेखि बिदामा गएकाले डोटीका सहायक प्रजिअ पुस्कर खड्का काजमा सीडीओका रूपमा जिल्ला प्रशासन कार्यालयमा आएका हुन् । 

अछामको सीडीओले गर्ने कामको सबै जिम्मेवारी गृह मन्त्रालयले दिएपछि केही दिनका लागि मात्रै अछाम आएको हुँ । गत पुसमा पनि अछामका सीडीओ बिदामा जाँदा नागरिकता दिन डोटीबाट आएको थिएँ,’ हाल काजमा अछाम आएका डोटीका सहायक प्रजिअ खड्काले भने, ‘नागरिकता र राहदानी दिने जस्ता काम भइरहेको छ । मुद्दाको थुनछेकमा भने समस्या भएको छ । त्यस्ता मुद्दा आउँदा म्याद थपिदिने गरेको छु । बाँकी काम सीडीओ आएपछि हुन्छ ।’

यसअघि अछामका सीडीओ बिदा बस्दा नागरिकता र राहदानी दिन कालीकोट जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र श्रेष्ठलाई गृह मन्त्रालयले अछाम पठाएको थियो । भौगोलिक विकटता, दुर्गमको कारण र राजनीतिक प्रभावका कारण खटाएका कर्मचारीसमेत नआउने गरेको गुनासो छ । सहायक प्रजिअका लागि यो बीचमा ४ जनाभन्दा बढीको नाम प्रस्तावित भए पनि कसैले आउन नमानेको जिल्ला प्रशासन कार्यालयका एक कर्मचारीले बताए । ‘एक जना सहायक सीडीओ भएर आउने गरी पत्र बुझेको खबर आएको थियो । बीचैमा कता गएछन् थाहै भएन,’ ती कर्मचारीले भने । जिल्ला प्रशासन कार्यालयमा अहिले डोटीबाट आएका सहायक प्रजिअ, एक जना नासु, २ जना कम्प्युटर अपरेटर र कार्यालय सहयोगी मात्रै छन्  ।