नेपाल भारत सीमा सुरक्षा बैठकः सीमामा सहजताका लागि दुवै देशका अधिकारीहरु सहमत 
2020/06/20, 6:57
 
sima

नेपाल भारत सिमा सुरक्षा बैठक भारतको लखिमपुर खिरी जिल्लाको गौरीफन्टामा शनिवार सम्पन्न भएको छ । बैठकमा सिमा सुरक्षा, लकडाउनको समयमा दुई देशका नागरिकहरु ओहोर दोहरमा दुबै देशका अधिकारी बिच भैरहेको समन्वयका बारेमा छलफल भएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए ।

बैठकमा कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नरहरी खतिवडा, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रतिनिधि सहभागी थिए । त्यसैगरी भारतको तर्फबाट लखिमपुर खिरी जिल्लाका डि.एम. शैलेन्द्र कुमार सिंह, भारतीय प्रहरी, सिमा सुरक्षाबल र दुधवा नेशनल पार्कका प्रमुखको सहभागिता रहेको थियो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले सिमा सुरक्षा समितिको औपचारिक र अनौपचारिक बैठक आवश्यकता अनुसार बस्ने गरेको बताए । उनले भने, अहिले भारतबाट नेपाल भित्रिनेहरुको सीमाका भिडभाड भएकाले यसलाई दुई देशले समन्वय गरेर कसरी सजिलो पार्न सकिन्छ भन्नेमा छलफल भयो ।

त्यसैगरी मोहना आर्यघाटका बारेमा पनि डि.एम. सिंहले चासो देखाएको बताए । मोहना आर्यघाट पुरानो आर्यघाट हो, नेपालले पहिलेदेखि नै प्रयोग गर्दै आईरहेको भन्ने कुरा डिएम सिंहलाई प्रष्ट पार्ने काम भएको कैलालीका प्रमुख जिल्ला अधिकारी बोहराले बताए । मोहना आर्यघाट नेपाल भारत दशगजा क्षेत्रमा रहेको छ ।