बैतडीका अस्पतालमा बस्दैनन् दरवन्दीका स्वास्थ्यकर्मी, सुब्बा र खरिदारको भरमा अस्पताल
2022/03/17, 12:10
 
dd

तीन डाक्टरसहित ३२ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेको बैतडी अस्पताल सुब्बा र खरिदारको भरमा चल्न थालेको छ । दरबन्दी अनुसारका डाक्टर र स्वास्थ्यकर्मी नबस्दा स्थानीय भने उपचारका लागि भारततर्फ जानुपर्ने बाध्यता आएको छ ।

अस्पतालमा नवौँ तहका एक जना सुपरिन्टेन्डेन्ट डाक्टर र दुई जना मेडिकल अधिकृतसहित तीन जना, चार जना स्टाफ नर्स, एक जना एचए, दुई जना अहेब, एनएम दुई जना, ल्याबमा एक जना, एक्स–रेमा एक जना र मेडिकल रेकर्डर र लेखा अधिकृतसहितका सबै दरबन्दी खाली रहेको अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए ।

‘अस्पतालमा अहिले सुब्बा र खरिदार गरी दुई जना मात्रै दरबन्दीमा छौँ । डाक्टर, स्टाफ नर्स, एचए र अहेव सबै खाली छन् । ल्याबमा एक जना र एक जना एक्स–रेमा मात्रै हुनुहुन्छ । बिरामीको स्वास्थ्य परीक्षण गरेर सिटामोल दिने दरबन्दीका स्वास्थ्यकर्मी छैनन्,’ उनले भने ।

जिल्ला अस्पतालमा यसअघि छात्रवृत्ति करारमा कार्यरत डाक्टर वसन्तराज जोशी पनि अध्ययनमा गएकाले प्रसूति सेवासमेत बन्द छ । सरकारले १५ शय्याको बैतडी अस्पताललाई स्तरोन्नति गरेर ५० शय्याका लागि भवन निर्माण गरे पनि दरबन्दीका डाक्टर पठाएको छैन् । लामो समयदेखि अस्पताल व्यवस्थापन समितिसमेत गठन गरिएको छैन् ।