पर्यटन व्यवसायीहरुको अन्तर प्रादेशिक समन्वयात्मक भ्रमण सुरु
2022/03/23, 7:24
 
ss

पर्यटन व्यवसायीहरुको अन्तर प्रादेशिक समन्वयात्मक भ्रमण सुरु भएको छ ।  ‘देवभूमि सुन्दर ठाउँ, सुदूरपश्चिम घुम्न जाउँ’ भन्ने नारासहित सुरु भएको भ्रमण तथा अन्तरक्रिया कार्यक्रमको सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामीले एक कार्यक्रमका बिच विदाइ गरे ।

सुदूरपश्चिम प्रदेशका पर्यटन व्यवसायीहरुलाई अन्य प्रदेशका पर्यटन व्यवसायीहरुसंग अन्तरक्रिया गराई अनुभव साटासाटको वातावरण श्रृजना गरी बिजनेश टु बिजनेश समन्वय तथा प्रचारप्रसार गर्न र आसन्न सुदूरपश्चिम ट्राभल मार्टको अन्य प्रदेशमा प्रचारप्रसार गरी पाहुनाहरुलाई आमन्त्रण गर्ने उदेश्यले भ्रमण तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरीएको सुदूरपश्चिम प्रदेश पर्यटन विकास कार्यक्रम कायान्वयन इकाई धनगढीका प्रमुख भोजराज पाठकले बताए ।

नाट्टा सुदूरपश्चिम प्रदेश, आन्तरिक पर्यटन पुनरुत्थान समिति सुदूरपश्चिम र होटल व्यवसायी संघ कैलालीको समन्वय र सहकार्यमा सुदूरपश्चिम प्रदेश पर्यटन विकास कार्यक्रम कायान्वयन इकाईले कार्यक्रमको आयोजना गरेको हो । चैत १५ गतेसम्म हुने समन्वयात्मक भ्रमण तथा अन्तरक्रिया कार्यक्रम अन्तर्गत १ नम्बर प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशसम्म पुग्ने प्रमुख भोजराज पाठकले बताए ।

भ्रमणमा प्रदेश पर्यटन विकास कार्यक्रम कायान्वयन इकाई सुदूरपश्चिम प्रदेशका प्रमुख र प्राविधिक, पर्यटन व्यवसायी, होटेल व्यवसायी, यातायात व्यवसायी, टुर्स एण्ड ट्राभल एजेन्ट लगायत रहेका छन् । भ्रमण टोलीले चैत ११ गतेदेखि धरानमा आयोजना हुन लागेको इष्टर्न टुरिज्म मार्ट–२०२२ मा समेत भाग लिई अनुभव आदानप्रदान गर्नुका साथै आसन्न सुदूरपश्चिम ट्राभल मार्टको अन्य प्रदेशमा प्रचारप्रसार गरी पाहुनलाई प्रत्यक्ष आमन्त्रण गर्ने बताइएको छ ।

भ्रमण टोलीलाई नाट्टा सुदूरपश्चिम प्रदेशका अध्यक्ष मायाप्रकाश भट्ट, नेपाल पर्यटन पत्रकार महासंघ कैलालीका अध्यक्ष भिम चौधरीलगायतले समेत विदाई गरेका थिए ।