२ हजार ४५७ जना म्यादी प्रहरीका लागि कैलालीमा ११ हजार बढीले आवेदन दिएका छन्। सरकारले म्यादी प्रहरी भर्ना गर्न चैत ६ गतेदेखि ११ गतेसम्म दरखास्त दिने समय तोकेको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार २ हजार ४५७ म्यादी प्रहरीका लागि ११ हजार २ सय २२ जनाले आवेदन दिएको जनाएको छ ।
म्यादी प्रहरीको आवेदन दिनेमा आर्थिक अवस्था कमजोर भएका तथा उच्च शिक्षा पास गरेका युवायुवतीहरुको संख्या बढी रहेको पाइृएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सरकारले देशभर नै म्यादी प्रहरी भर्ना गरेको छ । म्यादी प्रहरीका लागि देशभरबाट २ लाख ८० हजार ४९५ जनाले आवेदन फारम भरेका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार एक लाख म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरिएकोमा २ लाख ८० हजार ४९५ जनाले आवेदन फारम भरेका हुन् । फारम भरेकाबाट १४ गतेदेखि छनोट सूची प्रकाशनको कार्य सुरू हुने छ ।
अन्तिम नामावली २६ गतेसम्म प्रकाशन भएर २७ गते नियुक्तिको काम थालिने र त्यही दिनबाट तालिम सुरू हुने बताइएको छ । म्यादी प्रहरीका लागि हरेक जिल्ला प्रहरी कार्यालयहरूले फारम लिएका छन् ।
म्यादी प्रहरीका लागि १८ देखि ५४ वर्ष उमेर भएकाले निवेदन दिन पाउने व्यवस्था थियो। म्यादी छनोटमा पूर्वप्रहरी, पूर्वसैनिकलगायत राष्ट्रिय अन्तर्राष्ट्रिय फौजी संगठनमा काम गरेका व्यक्तिहरूलाई पहिलो प्राथमिकतामा राखिएको छ।त्यसबाहेक मापदण्डभित्र पर्नेहरूलाई समावेश गरिन्छ।
प्रहरी प्रधान कार्यालय, नक्सालको मानव स्रोत तथा प्रशासन विभागका अनुसार म्यादी प्रहरीका लागि प्रहरी जवानको तलब (आधारभूत तलब महिनाको २२,६८० रुपैयाँ) खाद्यान्न, पोशाक र अन्य सामग्री खरीदका लागि भनेर ४० दिनको ४४,४४० रुपैयाँ पाउने छन्। उनीहरुको बीमालगायतका अन्य सुविधा पनि हुनेछ।