नेकपा (एमाले) सुदूरपश्चिमका प्रमुख सचेतक लीलाधर भट्टले सरकारको कामभन्दा पार्टीका काममा राज्यका स्रोतसाधनको दुरुपयोग भएको बताएका छन् । प्रदेश सभाको नवौ अधिवेशनको पहिलो बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । सरकारको बजेटमा पार्टी निर्माणको काम भइरहेको भन्दै भट्टले आपत्ति जनाए ।
‘योजना बाँडेर, बजेट बाँडेर पार्टीमा भित्र्याउने काम भइरहेको छ । सरकारको कामभन्दा पार्टीका काममा राज्यका स्रोतसाधनको दुरुपयोग भइरहेको छ ।’ नेकपा समाजवादीलाई लक्षित गर्दै उनले भने, ‘कुनै पार्टी निर्माणमा सरकारको बजेट दुरुपयोग भइरहेको छ ।’
रकमको सुनिश्चिचता नहुँदै योजनाहरु ठेक्कामा लगाउँदा पछि समस्या हुने उनले बताए । ‘रकमको सुनिश्चिचता नहुँदै अर्थ मन्त्रालयको चिठीको भरमा सात–आठ अर्बका टेण्डर खोलिएका छन् तर काम सकेका र सक्ने क्रममा रहेका योजनाको भुक्तानी रोकिएको छ ।’ भट्टले भने, ‘पुरानालाई रोकेर नयाँ शिलान्यास गर्दा भोलि प्रदेशको आर्थिक स्थिति कता पुग्छ ?’
यस्तै सरकारका मन्त्रीले बाढी र पहिरो पीडितसंग हेलिकोप्टरमा गएर सेल्फी फोटो खिचे पनि अहिलेसम्म चिउरा, चाउचाउ पनि नदिएको आरोप लगाएका छन् । सीमामा भारतले बाँध बनाउदा समेत संघ र प्रदेश सरकार नबोलेको बताए । प्रमुख सचेतक भट्टले मुख्यमन्त्री र आर्थिक मामिला मन्त्री प्रदेश विकासका लागि ठूला योजना बनाउन लागेकोले फूर्सद नभएकोले संसद वैठकमा नआएको व्यंग्य पनि गरे ।