कैलालीको धनगढीमा रहेको गेटा विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउनका लागि गृहकार्य सुरु भएको छ । आइतवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा मन्त्रालयमा बसेको बैठकले गेटा विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउनका लागि आवश्यक सल्लाह, सुझाव सङ्कलन गर्न एक समिति गठन गरेको हो ।
मन्त्रालयका सहसचिव एवम् प्रवक्ता डा. टोकराज पाण्डेको संयोजकत्वमा गठन भएको पाँच सदस्यीय समितिमा मन्त्रालयका उपसचिव टेकनारायण पौडेल, सदस्य सचिव तथा पर्यटन बोर्डका सिनियर निर्देशक हिक्मतसिंह ऐर, नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर निलविक्रम थापा र बिशेषज्ञका तर्फबाट सुरेन्द्र बोहरा सदस्य रहेका छन् ।
यो समितिले गेटा विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउनका लागि स्थलगत अध्यन गर्ने तथा त्यस क्षेत्रका स्थानीयवासी, नागरिक समाजलगायत सँग छलफलसहित परामर्श गरी प्रतिवेदन बुझाउने समितिका संयोजक डा. पाण्डेले जानकारी दिए । उनका अनुसार यो समितिले सामाजिक, आर्थिक तथा प्राविधिक विषयमा विभिन्न निकायसँग छलफल गरी १५ दिनभित्रमा प्रतिवेदन पेस गर्नेछ ।