दार्चुलामा गणित शिक्षकको कुटाइबाट विद्यार्थी रगताम्य
2022/04/04, 5:24
 
aa

जिल्लाको दुहुँ गाउँपालिका–२ स्थित गोरिलमाण्डु उच्च माध्यमिक विद्यालयमा अध्यनरत एक छात्रलाई शिक्षकले कुटपिट गरेका छन् ।

कक्षा ८ मा अध्यनरत रोहित बडाललाई गणित शिक्षक कपिल भट्टले टाउँकोमा डस्टरले हिर्काउदा उनी रगताम्य भएका छन् । विद्यार्थीका अभिभावकहरुले त्यसबारे विद्यालय प्रशासन समक्ष गुनासो राखिसकेका छन् ।

बडालको टाउँकोबाट रगत बगिरहेको दृष्यसहितको तस्विर सामाजिक सञ्जालमा पनि भाइरल भइरहेको छ । उक्त विद्यालयका प्रधानाध्यापक इश्वर बडालले बालकको चकचके स्वभाव भएको र सम्झाउँदा नमानेपछि शिक्षकले डस्टरले हल्का छोएको मात्रै बताए ।

‘टाउको कोतरिदा हल्का रगत बगेको थियो, मैले नै अस्पताल पठाएको हो,’ उनले भने, ‘सामान्य घटना हो, बढाइचढाई नगर्नु राम्रो होला ।’

शिक्षा ऐन तथा निर्देशिकाहरुमा कक्षा कोठादेखि शिक्षकहरुको व्यवहार सबै बालमैत्री हुनुपर्ने उल्लेख गरिएपनि शिक्षकहरुले विद्यार्थी माथि कुटपिट गर्न नछाडेको भन्दै यहाँका अभिभावकहरुले गुनासो गरेका छन् । उनीहरुले गणित शिक्षक भट्टलाई कारवाहीको मागसमेत गरेका छन् ।