कञ्चनपुर र अछाममा तालमेल गर्ने सत्तारुढ दलको निर्णय
2022/04/05, 4:45
 
aa

गठबन्धनमा सहभागी सत्तारुढ राजनीतिक दलले कञ्चनपुर र अछाममा चुनावी तालमेल गरेर अगाडि बढ्ने निर्णय गरेका छन् ।  सोमबार दुवै जिल्लामा बसेको गठनबन्धन दलहरुको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेका हो । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा दुवै जिल्लामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले राम्रो नतिजा ल्याएको थियो । अघिल्लो त्यो नतिजालाई आकलन गरेर यसपाली बाजी मार्ने लक्ष्यका साथ गठबन्धन दलले चुनावी तालमेल गरेर अगाडि बढ्ने निर्णय गरेका हुन । 

नौ स्थानीय तह रहेको कञ्चनपुरमा पाँच पालिकामा एमालेले जित हात पारेको थियो भने नेपाली काङ्ग्रेस र माओवादी केन्द्रले दुई÷दुई स्थानीय तहमा चित्त बुझाएका थिए । एमालेले पुनर्वास नगरपालिका, भीमदत्त नगरपालिका, बेदकोट, कृष्णपुर नगरपालिका र बेलडाँडी गाउँपालिकामा चुनाव जितेको थियो । माओवादी केन्द्रले बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकामा जितेको थियो । त्यस्तै, नेपाली काङ्ग्रेसले दोधारा चाँदनी र शुक्लाफाँटा नगरपालिकामा जित हात पारेको थियो । अघिल्लो निर्वाचनमा एमाले बलियो रहेको सो जिल्लामा सत्तारूढ गठबन्धनमा सहभागी यहाँका राजनीतिक दलका नेताले स्थानीय तहको निर्वाचनमा आपसी तालमेल गर्ने निर्णय गरेका हुन । 

नेपाली कांग्रेस पार्टी कार्यालय महेन्द्रनगरमा सोमबार बसेको बैठकले केन्द्रमा भएको सहमतिअनुसार आपसी समझदारी तथा सहकार्य गरी स्थानीय स्तरमा तालमेल गरे अगाडि बढ्ने निर्णय गरेका छन् । ‘तालमेलबारे सामान्य छलफल भएको छ’, नेकपा (माओवादी केन्द्र) का जिल्ला इन्जार्च टेकेन्द्रप्रसाद भट्टले भने, ‘सहकार्य गर्न सतारूढ सबै दल सहमत छौँ, तालमेलबारे विस्तृत छलफल गरी टुङ्गोमा पु¥याउनका लागि अर्को बैठक चैत २३ गते राख्ने निर्णयसमेत भएको छ ।’

राजनीतिक दलको स्थानीय तहमा उपस्थितिका आधारमा तालमेल हुन सक्ने बैठकमा सहभागी नेताहरुको भनाइ रहेको छ । ‘यसको आङ्कलन गरिनेछ, त्यसै आधारमा तालमेल हुन्छ’, बैठकमा सहभागी नेताहरुले भने । आगामी बैठक चैत २३ माओवादी केन्द्रको कार्यालयमा बस्ने निर्णय गरिएको छ । नेपाली कांग्रेसका जिल्ला सभापति पदम बोगटीको अध्यक्षतामा बसेको बैठकमा माओवादी केन्द्रका जिल्ला इन्चार्ज भट्ट, जिल्ला संयोजक खेमराज पाण्डेय, नेकपा (एकीकृत समाजवादी) का जिल्ला इन्चार्ज लालबहादुर खड्का, राष्ट्रिय जनमोर्चाका रामबहादुर कार्की लगायतको सहभागिता रहेको थियो । 

अघिल्लो निर्वाचनमा एमालेले पाँच पालिकामा जित हात पारे पनि पछिल्लो समय सो पार्टी विभाजन भएपछि एमालेबाट स्थानीय तहमा चुनाव जितेका पुनर्वास नगरपालिकाका प्रमुख जीवन थापा र वेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्द नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । यस्तै, अछाममा पनि स्थानीय तहको चुनावमा तालमेल गर्ने गठबन्धनले निर्णय गरेका छन् । अछाममा तीन राजनीतिक दलले स्थानीय तह चुनावमा वडासम्म नै तालमेल गर्ने निर्णय गरेका हुन् । 

सोमबार बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको जिल्लास्तरीय नेताको बैठकले चुनावी तालमेल गरेर जाने निर्णय गरेका हुन् । कांग्रेस सभापति पुष्पबहादुर शाह, माओवादी संयोजक रवीन्द्र साउद र नेकपा एकीकृत समाजवादीका अध्यक्ष हिरण्ड भट्टराईले जिल्लाका १० स्थानीय तह र ९१ वडामा चुनावी तालमेल गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । स्थानीय तहका कमिटी र कार्यसमितिलाई गठबन्धनको मर्म र भावनाअनुसार अघि बढ्न सार्वजनिक रूपमा अनुरोध गरिएको उनीहरूले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

चुनावी तालमेलका लागि छलफल

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पाँच दलबीच चुनावी गठबन्धन गरेर जानेबारेमा यति बेला छलफल जारी छ । पाँच दलको चुनावी गठबन्धनको तयारी भइरहँदा विपक्षी नेकपा (एमाले) ले कैलालीमा विभिन्न दलसँग चुनावी गठबन्धन गर्नेबारेमा छलफल थालेको छ । नेपाली कांग्रेस कैलालीका जिल्ला सचिव नृपबहादुर सुनारले केन्द्रमा पाँच दलबीच भएको सहमतिबमोजिम जिल्लामा गठबन्धन बनाएर चुनावमा तालमेल गरेर कसरी जान सकिन्छ भन्ने विषयमा छलफल भइरहेको जानकारी दिए ।

‘दलहरुको पहिलो चरणको छलफल सकारात्मक भयो’, उनले भने, ‘दलहरुले आ–आफ्नो साङ्गठनिक अवस्था र पाँच वर्षअघि भएको स्थानीय तहको निर्वाचनमा पाएको मतको विश्लेषण अध्ययन गरेर पुनः छलफल गर्ने गरी बैठक सकिएको छ ।’ यही चैत २३ गते गठबन्धन दलको बैठक पुनः बस्न लागेको जनाइएको छ ।एमालेका नेता एवं धनगढी उपमहानगरपालिको प्रमुखका आकाङ्क्षी रणबहादुर चन्दले जुन दलसँग चुनावी गठबन्धन गर्न उपयुक्त र सहज हुन्छ, उसैसँग तालमेल गरेर जानुपर्छ भन्ने केन्द्रको निर्देशनअनुसार चुनावी छलफल थालिएको जानकारी दिए । ‘सकभर आफ्नै बलमा चुनावमा जाने तयारी एमालेको हो’, उनले भने, ‘एमालेले जिल्लामा पाँच दलभित्रैकै कतिपय दलका साथै नयाँ गठन भएको नागरिक उन्मुक्ति पार्टी र राप्रपासँग चुनावी गठबन्धन गर्ने विषयमा छलफल थालेको छ ।’

नेकपा (माओवादी केन्द्र) का नेता रमेश धामीले जिल्लामा चुनावी गठबन्धन गर्न पाँच दलबीच एक चरणमा छलफल भई आ–आफ्नो आन्तरिक तयारी गरिरहेकाले अर्को बैठकमा थप छलफल हुने जानकारी दिए ।‘सकभर पाँच दलभित्रै चुनावी गठबन्धन गरेर जाने तयारी भइरहेको छ’, धामीले भने, ‘त्यो सम्भव नभए पाँच दलकै सहमति जुटाएर गठबन्धन बाहिरको दलसँग पनि तालमेल गरेर जान सकिन्छ ।’केन्द्रमा पाँच दलले गठबन्धन गरेर चुनावमा जाने सहमति गरे पनि वडा र जिल्ला तहमा सम्बन्धित दल समर्थित कतिपय कार्यकर्ता एवं मतदाता भने यस्तो सहमति अक्षरशः कार्यान्वयनमा लैजान भने चुनौती रहेको बताउँछन् । ‘जिल्लामा यस्तो सहमति नेता तहमा लागू हुन सक्ने भए पनि आम मतदाता समक्ष हुबहु कार्यान्वयन गर्न चुनौती छ’, नाम बताउन नचाहने एक राजनीतिक कार्यकर्ताले भने, ‘कुनै मतदातालाई उम्मेदवार मन नपर्ला, कुनैलाई दल मन नपर्ला, यस्तोमा चुनावी गठबन्धन केन्द्रका नेताले सोचे जस्तो सफल होला जस्तो देखिँदैन ।’

जिल्लामा धनगढी उपमहानगरपालिकासहित १३ स्थानीय तह छन् । पाँच वर्षअघि भएको निर्वाचनमा यीमध्ये सात स्थानीय तहमा एमाले, धनगढी उपमहानगरपालिकासहित तीनमा नेपाली कांग्रेस, दुईमा नेकपा (माओवादी केन्द्र) र एक तहमा तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका उम्मेदवार प्रमुख पदमा विजयी भएका थिए । अहिले एमाले विभाजन भएको छ भने फोरम लोकतान्त्रिक केही वर्षअघि नै कांग्रेसमा समाहित भइसकेको छ ।

एमाले विभाजन भएर गठन भएको नेकपा (एकीकृत समाजवादी)ले वडा तहसम्म आफ्नो सङ्गठन विस्तारलाई तीव्रता दिइरहेको  छ । चुनावलाई लक्षित गरी एमाले, कांग्रेस, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, राप्रपालगायत दलले पनि यति बेला आफ्नो सङ्गठन विस्तारलाई तीव्रता दिएका छन् ।सुदूरपश्चिम प्रदेशमा आउने स्थानीय तहको चुनावमा धनगढी उपमहानगरपालिकाको निर्वाचनलाई बढी चासोका साथ लिन थालिएको छ । प्रदेशको राजधानी र व्यापारिक केन्द्रका रुपमा रहेकाले उपमहानगरको चुनावलाई बढी चासोपूर्वक हेरिन थालिएको हो ।

पाँच वर्षअघिको निर्वाचनमा यो उपमहानगरमा नेपाली कांग्रेस प्रमुख र उपप्रमुखमा विजयी भएको थियो ।राजनीतिक दलहरुले उम्मेदवार नटुङ्ग्याउँदै यो उपमहानगरको प्रमुख पदमा एक महिनाअघि नै स्वतन्त्र उम्मेदवारी घोषणा गरेका व्यवसायी गोपाल हमाल चुनावी प्रचारप्रसारमा अगाडि देखिएका छन् । पाँच वर्षअघिको चुनावमा पनि स्वतन्त्र उम्मेदवारी दिएका हमाल प्रमुखका विजयी कांग्रेसका उम्मेदवारसँग निकटतम प्रतिद्वन्द्वी रहेका थिए ।