धनगढीमा ५७ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने
2022/04/05, 4:48
 
aa

कैलालीको धनगढी उपमहानगरपालिका भित्रका बालबालिकाहरूलाई चैत्र २३ गते (भोलि)देखि टाइफाइड विरुद्धको खोप लगाइने भएको छ । उपमहानगरपालिकाको स्वास्थ्य शाखाले मङ्गलवार टाइफाइड विरुद्धको खोप अभियानलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रमको आयोजना गर्दै १५ महिनादेखि १५ वर्ष उमेरसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप  दिइन लागेको  जानकारी दिएको हो

उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण बोहराले उपमहानगरपालिकाका  विद्यालयमा टाइफाइड विरुद्धको खोप अभियान चैत्र २३ गतेदेखि वैशाख २ गतेसम्म सञ्चालन हुने बताए । उपमहानगरपालिकाले  करिब ५७ हजार सात सय ८२ जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने लक्ष्य राखेको छ ।

देशभर यो कार्यक्रम २५ गतेदेखि लागु हुने भएपनी धनगढीका अधिकांश विद्यालयले परीक्षाको मिति तोकिसकेकाले २३ गतेदेखि नै सञ्चालन गर्न लागिएको स्वास्थ्य शाखा प्रमुख बोहराले बताए।

उपमहानगरपालिका भित्र १३२  खोप केन्द्र र १४१ खोप सेसन सङ्ख्या रहने र ३३० महिला स्वास्थ्य संयमसेविका  र ८६ स्वास्थ्यकर्मी परिचालन गरिने जनाएको छ । यो खोप लगाउँदा खोप लगाएको ठाउँ रातो हुने, चिलाउने, सामान्य ज्वरो आउने लगायतका समस्या देखिए पनि जटिल प्रकारको समस्या नआउने बोहराले बताए ।

टाइफाइड रोग भनेको के हो ?

टाइफाइडलाई म्यादे ज्वरो ज्यानै जोखिममा पार्न सक्ने संक्रमक रोग हो । ढल वा सङ्क्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगका जीवाणु स्वस्थ व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट सर्दछ । यो रोग सबै उमेर समूहको व्यक्तिहरूमा लागेको पाइएता पनि विशेष गरी १५ वर्ष मुनिका बालबालिकामा धेरै हुने गरेको पाइएको छ ।

यो रोगको लक्षण के के हुन् ?

उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने र जिब्रोमा सेतो लेत लाग्ने लगायतका समस्या हुन्छ । कसै कसैलाई पेट दुख्ने, पखाला लाग्ने , वाकवाकी लाग्ने , भोक नलाग्ने, शरीरमा रातो बिमिरा आउने आदी लक्षण र चिन्ह पनि देखिन सक्छ । यो रोगको सङ्क्रमणबाट केही व्यक्तिहरूमा शरीरका विभिन्न भागमा सङ्क्रमण फैलने सानो आन्द्रामा घाउ हुने र प्वाल पर्ने र मस्तिष्क सम्बन्धी जटिलता समेत देखा पर्न सक्छन् ।