अस्पताल तोडफोडको घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन माग
2022/04/07, 6:43
 
dd

कैलालीको अत्तरियामा रहेको पद्मा अस्पतालमा भएको तोडफोडको घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन माग गरिएको छ । एशोसियशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसनले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाउँदै सो माग गरेको हो ।

एशोसियशनका सुदूरपश्चिम प्रदेश अध्यक्ष जनकराज जोशीको नेतृत्वको टोलीले बुझाइएको ज्ञापन पत्रमा पदमा अस्पतालमा भएको घटनाका विषयमा संवेदनशील भएर कडाइका साथ अगाडी बढ्न र घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउन माग गरिएको छ ।

‘आक्रमण गर्ने, तोडफोड गर्नेहरूलाई समयमा नै कानुनको दायरमा ल्याई सजाय दिने होइन भने अझै तिनका मनोबल बढ्ने र यस्ता विकृतिहरू अझै बढ्दै जाँदा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाहरू धरासयी हुँदै जानेछन्’ ज्ञापन पत्रमा भनिएको छ, ‘देश भरीका अस्पतालहरू सञ्चालनको शान्ति पूर्वक वातावरण निर्माण गर्न र उदासीनता आउन नदिन हामी जोरदार माग गर्दछौ ।’

गत शनिवार गोदावरी नगरपालिका – ३ का ३८ वर्षीय विनोद कुमार बोहराको मृत्यु भएपछि स्थानीयले अस्पतालमा तोडफोड गरेका थिए । तोडफोडका कारण करिब ८० लाख रुपैयाँको क्षति भएको  अस्पतालले जनाएको छ ।