सुदूरपश्चिमलाई ‘एक्सप्लोर’ गर्न मन्त्री आलेको आग्रह
2022/04/09, 1:07
 
dd

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा फारवेष्ट ट्राभल मार्ट–२०२२ शुक्रबारदेखि धनगढीमा सुरु भएको छ । यो प्रदेशको पर्यटनलाई बजारीकरण गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड, धनगढी उपमहानगरपालिकाको सहयोगमा नाट्टा सुदूरपश्चिमले मार्टको आयोजना गरेको हो ।

सो मार्टको एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले उद्घाटन गरे । सो क्रममा उनले सुदूरपश्चिमलाई ‘एक्सप्लोर’ गर्न आग्रह गरेका छन् । मन्त्री आलेले पर्यटन व्यवसायीलाई यहाँ लगानी गर्न पनि आग्रह गरे । 

कला, संस्कृतिमा धनी रहेको सुदूरपश्चिम भारतीय पर्यटकका लागि उपयुक्त गन्तव्य बन्ने मन्त्री आलेले बताए । ‘हामीसंग अपि, सैपाल जस्ता हिमालहरु रहेका छन् । विभिन्न जातिको थुप्रै कला, संस्कृतिहरु छन्’, उनले भने । ‘यी सबै सम्भावनाको एक्सप्लोर गर्नुहोस ।’ 

शिवरात्रिका बेला पशुपति नाथ मन्दिरमा धेरै भारतीय दर्शनार्थीहरु आउने गरेको चर्चा गर्दै मन्त्री आलेले सुदूरपश्चिमको बाटो प्रयोग गरेमा दिल्लीबाट मानसरोवर पनि नजिक रहेको बताए । ‘बझाङको उरै नाकाबाट मानसरोवर जम्मा ९० किलोमिटर र दिल्लीदेखि मानसरोवरको दूरी करिब ७५० किलोमिटरमात्रै छ’, उनले भने । ‘शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज झन भारतको बोर्डर नजिकै रहेको छ ।’ 

आफूले मन्त्रालयको जिम्मेवारी सम्हालिसकेपछि पहिलो कामको रुपमा सुदूरपश्चिममा नेपाल पर्यटन बोर्डको कार्यालय स्थापना गर्ने कार्य गरेको उनले बताए । ‘धनगढीमा स्थापना भएको पर्यटन बोर्डको कार्यालयले यो प्रदेशमा पर्यटन विकास गर्न मार्गदर्शन गर्नेछ’, मन्त्री आलेले भने।

उनले सुदूरपश्चिमको पर्यटनलाई अगाडि बढाउनका लागि धनगढी विमानस्थल क्षेत्रीय स्तरको विमानस्थलमा स्तरोन्नति भइरहेको बताए । ‘त्यसका लागि मैले यो आर्थिक वर्षमा एक अर्ब रुपियाँ बजेट विनियोजन गरेको सबैलाई थाहै छ’, उनले भने । ‘आगामी वर्ष १० अर्ब रुपियाँसम्म बजेटको व्यवस्था गर्छु ।’ सुदूरपश्चिमको अन्य जिल्लाका विमानस्थल सञ्चालनका लागि पनि पहल भइरहेको र बजेट पनि विनियोजन भएको मन्त्री आलेको भनाइ थियो । 

धनगढीस्थित रुबस होटलमा आयोजित मार्टमा नेपाल, भारतका सरोकारवालाहरुको उपस्थिति रहेको छ । खास गरेर भारतीय टुर अपरेटरहरुलाई सुदूरपश्चिमको पर्यटकी स्थलहरुको अवलोन गराउने, यहाँको सम्भावनाबारे विस्तृत रुपमा जानकारी दिने उद्देश्यले मार्ट आयोजना गरिएको हो । मार्टमा भारतको दिल्ली, नैनीताल, देहरादुन, खटिमा लगायतका ठाउँका पर्यटन व्यवसायी, टुर अपरेटर, गाइड, सञ्चारकर्मी लाई बोलाइएको छ । यसैगरी, नेपालका सरोवारवाला निकायहरुको पनि सहभागिता रहेको छ ।

मार्ट आयोजना भएको सुदूरपश्चिम र धनगढीका बासिन्दा खुशी रहेको धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले बताए । उनले सुदूरपश्चिममा बढीभन्दा बढी भारतीय पर्यटक भित्र्याउनका लागि नाका सहज बनाउन आवश्यक रहेको बताए । ‘जबजसम्म नाका सहज हुँदैन तबसम्म पर्यटन विकास हुँदैन’, उनले भने । यसैगरी, सुदूरपश्चिमको सबै जिल्लामा रहेका विमानस्थल सञ्चालन हुन आवश्यक रहेको वडले बताए ।

उनले सुदूरपश्चिमसंग भारतका उत्तरप्रदेश, उत्तराखण्ड, दिल्ली जस्ता राज्य नजिक रहेको उल्लेख गर्दै भारतबाट मानसरोवरका लागि आउने धार्मिक पर्यटकलाई धनगढी विमानस्थलबाट ताक्लाकोटसम्म पु¥याउनसके ठूलो आर्थिक लाभ हुने बताए ।‘भारतीयहरु अहिले नेपालगञ्ज भएर मानसरोवर जाने बाध्यता रहेको छ’, उनले भने । 

कार्यक्रममा भारतबाट आएका व्यवसायीका लिडर विजय मोहनसिंह खातीले भारतमा जिम कर्बेट घुम्नका लागि ठूलो क्रेज रहेको बताए । तर, घुम्नका लागि कर्बेटभन्दा राम्रो गन्तव्य नेपालको शुक्लाफाँटा रहेको उनको भनाइ थियो । मार्टको दोस्रो दिन अतिथिहरुलाई धनगढीको शिवपुरी धाम, जाखोर ताल, बेहडाबाबा, कञ्चनपुरको लिङ्गाहुँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, दोधारा चाँदनी झोलुङ्गे पुलको भ्रमण गराउने मार्टका संयोजक एवम् नाट्टा सुदूरपश्चिमका अध्यक्ष मायाप्रकाश भट्टले जानकारी दिए ।

त्यस्तै, तेस्रो दिन घोडाघोडी बर्ड सेन्चुरी, टीकापुर पार्क, कर्णाली पुलको भ्रमण अवलोकनका साथै कर्णाली नदीमा ¥याफ्टिङ गराउने आयोजकले जानकारी दिएको छ । सुदूरपश्चिमको पर्यटनलाई भारतीय पर्यटक माझ बेच्ने लक्ष्यका साथ मार्ट आयोजना गरिएको भट्टले बताए । मार्टको पहिलो दिन स्वदेशी तथा विदेशी सहभागीबीच व्यावसायिक अन्तरक्रियासमेत गरिएको छ ।