नयाँ वर्ष मनाउन फर्कनेसंग मन्त्रीको भलाकुसारी
2022/04/14, 1:50
 
ss

घडीमा विहानको करिब साढे आठ बजेको हुनुपर्छ । बुधबार गौरीफन्टा नाकाबाट नेपालीहरु स्वदेश फर्कनेक्रम जारी थियो । कामको सिलसिलामा भारत पसेकाहरु नयाँ वर्ष र बिसु पर्व मनाउनका लागि ठूलठूला झोली, झम्टा, भारी बोकेर फर्कदै थिए । त्यसै क्रममा नाका पुगे, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री डा. रणबहादुर रावल । 

भारतबाट फर्किरहेका कामदारहरुलाई दुई हात जोडेर नमस्कार गर्दै स्वदेशमा स्वागत गर्न थाले रावल । साथै, नयाँ वर्षको शुभकामना दिदैं यात्राको क्रममा भएको कठिनाइ, सीमा क्षेत्रमा भोग्नु परेको समस्याबारे कामदाहरुसंग बुझ्न थाले ।‘नमस्कार म यो प्रदेशको मन्त्री । तपाईहरु कहाँबाट आउनुभयो ? यात्रामा के कस्तो समस्या भयो । नाकामा कसैलाई कुनै समस्या भोग्नु परेको छ कि ?’, यी यस्ता प्रश्न सोध्न थाले मन्त्री रावलले । 

झोलाको भारीले थिचिएका एक जनाले फर्काए । ‘राम्ररी आइपुग्यौं हजुर । त्यस्तो समस्या भएन । नाकामा पनि भारतीय अधिकारी र प्रहरीले केही गरेनन् ।’, उनी थिए, बझाङका नरेन्द्र सिंह, कन्याकुमारीबाट फर्कदै गरेका ।नयाँ वर्ष र बिसु पर्व मनाउनका लागि फर्किरहेका उनले नाकामा त्यस्तो कुनै समस्या भोग्नु नपरेको र राम्रैसंग आइपुगेको बताए । ‘त्यस्तो कुनै समस्या भएन’, उनले भने । कन्याकुमारीमा छ महिनासम्म काम गरेर आफू फर्किएको सिंहको भनाइ थियो । 

सिंह जस्तै अरुसंग पनि मन्त्री रावलले त्यहि प्रश्न हार्दिकताका सोध्नुकासाथै भोगेका समस्या, भएका कठिनाइबारे बुझ्न थाले । हप्तादिन अगाडिमात्रै प्रदेश सरकारको मन्त्री भएका रावलले पर्व मनाउनका लागि भारतबाट फर्किरहेकाहरुसंग विहानै भलाकुसारी गरेका हुन । 
सीमा क्षेत्रमा नेपाली कामदारले भोग्दै आएको समस्या, उनीहरुमाथि हुने ज्यादतिबारे जानकारी लिने उद्देश्यले मन्त्रीले सीमा नाकाको निरीक्षण गर्नुका साथै स्वदेश फर्किरहेका नेपाली कामदारसंग भलाकुसारी गरेका हुन ।

भारतबाट फर्कने कामदारमाथि सीमा क्षेत्रमा ठगिने, लुटिने, कुटपिट जस्ता ज्यादति हुँदै आएको छ । यसैगरी, कामदारबाट भारतीय कष्टमका अधिकारी, भारतीय सुरक्षाकर्मी र नेपाली सुरक्षाकर्मीले पैसा असुलि गर्ने गरेको गुनासो सुनिदैं आएको छ । 

कामको सिलसिलामा भारत पुगेका नेपाली कामदारहरु फर्कने क्रममा नाकामा विभिन्न समस्या भोग्ने गरेकाले उनीहरुको समस्या बुझ्नका लागि नाकाको निरीक्षण गरेको मन्त्री रावलले बताए । उनले नाकामा नेपालीले भोग्दै आएको समस्या समाधानका लागि आफूले सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उल्लेख गरे ।  

‘कतिपय कुरामा गम्भीरतापूर्व सम्बन्धित निकायको ध्यानार्षण गराउनु पर्छ भन्ने मलाई लागेको छ’, मन्त्री रावलले भने । ‘सीमाका कुरा सङ्घीय सरकारसंग सम्बन्धित रहेकाले यस विषयमा प्रदेश सरकार सङ्घीय सरकारसंग कुरा राख्छ ।’ 

नेपालीहरुको सहज रुपमा आवतजावतका लागि मित्र राष्ट्र भारतले पनि सोही अनुसारको वातावरण सृजना गर्नु पर्ने उनको भनाइ थियो । नाकामा कामदारले भोग्नु परेको समस्या बुझनका लागि आफू  बेला–बेला त्यहाँ पुगिरहने मन्त्री रावलले बताए । ‘कामका लागि भारत जानू भएका हाम्रा दाजुभाईले अब त्यस्ता समस्या भोग्न नपरोस भनेर उपयुक्त च्यानलमार्फत पहल गर्नेछु’, उनले भने । 

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री त्रिलोचन भट्टले आफूले पनि भारतमा धेरै वर्ष काम गरेकाले प्रदेशवासीले त्यहाँ भोग्नु परेको समस्याबारे आफू जानकार रहेको बताउँदै आएका छन् । उनले मुख्यमन्त्री भएलगत्तै सुदूरपश्चिम प्रदेशवासीहरु कामका लागि भारत जानू पर्ने बाध्यताको अन्त्य गर्ने उद्घोष गरेका थिए । तर, बेरोजगारी समस्या सम्बोधन हुन नसक्दा प्रदेशवासी भारत जानेक्रम पहिलेकोभन्दा कम छैन । कोभिड महामारीका क्रममा पनि कामको खोजीमा भारत जानेक्रम रोकिएको थिएन । 

मुख्यमन्त्रीले आफूले बोलिसकेका कुरालाई व्यवहार लागू गर्नु पर्ने मन्त्री रावलको भनाइ थियो । ‘उहाँले आफूले उद्घोष गरिसकेका कुरालाई लागू गर्नु पर्दछ’, रावलले भने । ‘अब धेरै समय छैन, भन्नकै लागि भन्ने परिपाटीको अन्त्य गरेर बाँकी रहेको समयमा जनताको पक्षमा धेरैभन्दा धेरै काम गर्नु पर्दछ ।’ 

रोजगारीको खोजीमा बर्सेनि लाखौं सुदूरपश्चिमेलीहरु भारतको विभिन्न सहर पुग्ने गरेका छन् । केही समय काम गरेर उनीहरु चाडपर्व मनाउन फर्कने गरेका छन् । नयाँ वर्ष र बिसु पर्व मनाउन फर्कनेको नाकामा लर्को नै लाग्ने गरेको छ ।भारतको दिल्लीबाट फर्किएका कञ्चनपुरको पुनर्वास नगरपालिकाका सुकर चन्दले नयाँ वर्ष मनाउनका लागि स्वदेश फर्किएको बताए । उनले फर्कने क्रममा पहिलेको जस्तो समस्या भोग्नु नपरेको बताए । ‘नाकामा पनि भारतीय अधिकारीले राम्रोसंग दिए’, उनले भने । 

काम गरेर फर्कने नेपाली कामदारबाट भारतको कष्टम अधिकारी, सुरक्षाकर्मीले पैसा असुल्ने गरेको गुनासो हुँदै आएको छ । यसैगरी, मोहना पुलमा बस्ने नेपाली सुरक्षाकर्मीले पनि पैसा असुल्ने गरेको एक जना वृद्धले गुनासो गरे । उनले नेपाली अटो चालक र गाडीवालाले मनलाग्दी भाडा असुल्ने गरेको बताए । 

चाडपर्व मनाउनका लागि हाल दैनिक सात÷आठ सय नेपालीहरु स्वदेश फर्किरहेको नाकामा रहेको हेल्प डेस्कले जानकारी दिएको छ । बुधबार विहानमात्रै करिब पाँच सय नेपाली कामदार फर्केका जनाइएको छ । मन्त्रीसंगै कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा, सुरक्षा निकायका प्रमुख लगायत नाकामा पुगेको थिए ।