डाक्टर गोविन्द केसी निःशुल्क स्वास्थ्य सेवा दिन बाजुरामा
2020/06/21, 1:55
 
dr kc

चिकित्सा क्षेत्र सुधारका अभियन्ता डाक्टर गोविन्द केसी डडेल्धुरा बाट बाजुरा पुगेका छन् । दुई महिना डडेल्धुरा अस्पतालमा निःशुल्क सेवा गरेर अन्य पहाडी जिल्लामा घुम्ने क्रममा उनी बाजुरा पुगेका हुन ।

डाक्टर केसी एक हप्ता बाजुरा बस्ने जनाईएको छ । डाक्टर केसीले यो भन्दा पहिला बझाङ्ग, दार्चुल्ला, बैतडी लगायत जिल्लामा पुगेर सेवा दिइसकेका थिए । बाजुरा रहँदा उनले समग्र जिल्लाको स्वास्थ्य अवस्थाको बारेमा बुझ्नुका साथै बिरामीको उपचार समेत गर्ने जिल्ला अस्पताल बाजुराका डाक्टर रुपचन्द्र विश्वकर्माले वताए । 

बेलाबेलामा मेडिकल माफिया, नेपालको स्वास्थ्य क्षेत्रमा भएको दुराचार, अवैध तथा अनियमित व्यवस्थाको विरोध तथा मेडीकल कलेज खोल्न माग गर्दै आएका उनी १७ औं पटक अनसन बस्न डडेल्धुरा पुगेका थिए । गत कार्तिक १८ गते डडेल्धुरा पुगेर अनसन बसेका बेला उनले चिकित्सा शिक्षा ऐनमा संशोधन, अरबौंको ठगी गर्ने मेडिकल कलेजका सञ्चालकहरुलाई कारवाही र सुदूरपश्चिमको डोटी, डडेल्धुरामा मेडिकल कलेजको माग राखेको थिए । तर कालापानी, लिपुलेख र लिम्पियाधुरा सीमा विवादका कारण उनको सत्याग्रह कार्तिक २६ गते ९ औं दिनमा स्थागित भएको थियो ।

गोविन्द केसी बाजुरा बस्दा सम्म उनले निःशुल्क सेवा दिने भएका छन् । बाजुराको शिक्षा स्वास्थ्यको अवस्था निकै दयनिय रहेको छ । केसी बाजुरा पुगेर जिल्ला अस्पताल बाजुराको भौतिक पुर्वाधारको अवस्थाको पनि अनुगमन गरेका छन् ।