क्राइम थ्रीलर सिनेमाको प्लट जस्तै भयानक छ, लागुऔषध र त्यसले निम्त्याएको एउटा हत्या । सुन्दै आङ जिरिङ्ग हुने हत्या कैलालीको जानकी गाउँपालिकाका ९ को अमरावती बनमा गत पुसमा भएको हो । जहाँ एकै छिमलका चार जना किशोरले आफ्ना साथीको हत्या गरेका थिए । उनीहरु चारै जना २० वर्षभन्दा कम उमेरका छन् ।
हत्यामा संलग्न रहेको आरोपमा मनोज भण्डारी, रोनी परियार भन्ने दिलिप दास, बमे भन्ने बम बहादुर बोहरा र सुमित साउदलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । उनीहरुले कैलालीको जानकी गाउँपालिकाका २५ वर्षका अर्जुन दासको हत्या गरेका प्रहरीको आरोप छ । उनीहरुले जंगलमा लगेर घण्टौंसम्म रुखमा बाँधी क्रुरतापूर्वक साथीको हत्या गरेका प्रहरीले बताएको छ ।
प्रहरीले शुक्रबार सार्वजनिक गरेका सुमित साउदले प्रहरीसँगको बयानमा भने, ‘मार्ने उद्देश्य त थिएन, तर गाजा तथा ड्रग्सले धूत भएपछि मार्ने योजना बन्यो ।’ हत्यामा संलग्न उनीहरु सबै ड्रग्स तथा गाजाले मातिएका थिए । सुमितका अनुसार उनीहरुले त्यसदिन अन्य दिनको भन्दा पाँच(छ डोज बढी लिएका थिए ।
कसरी भयो घटना ?
हत्याको कारण थियो मोबाइल । घटना हुनुभन्दा तीन दिनअघि कमल साउद (यसअघि नै पक्राउ परेका) को मोबाइल हरायो । उनले मोबाइल चोरेको आंशकामा सुमितलाई कुटपिट गरे । कमलको घरमा मृतक अर्जुन काम गर्न आइरहेका थिए । तर मोबाइल हराउनुअघि नै काममा आउने गरेकाले उनीमाथि कमलले शंका गरेनन् । तर कमलको मोबाइल सुमितले नभई मृतक अर्जुन दासले चोरेका थिए । अर्जुनले मोबाइल चोरी सिम निकालेर हर्के भाटलाई दिएका थिए । यो कुरा सुमितले चाल पाए । उनीहरुले कमलको मोबाइल फिर्ता गरिदिए ।
कमलले साथी सुमितलाई कुटेको बदला लिने सोच बनाए मनोज भण्डारी र बमबहादुर बोहराले । त्यसैले उनीहरुले कमलको २५ हजार रुपैयाँ बराबरको लागु औषध (निट्राभेट–१०) चोरेर जंगलमा लुकाए । कमल लागु औषध बेच्ने काम गर्ने कुरा मनोजको समूहलाई थाहा थियो । सुमितले मोबाइल नचोरे पनि कुटाइ खाएको भन्दै उनको समूहले अर्जुनसँग पनि बदला लिने योजना बनायो । ३ पुसमा अर्जुनलाई ड्रग्स खाने भन्दै अमरावती सामुदायिक बनमा बोलाए । जुन उनीहरुको पहिल्यैदेखिको अड्डा थियो ।
अर्जुन आएपछि उनीहरु सबैले संगै ड्रग्स र गाजा खाए । नशा चढ्दै गएपछि उनीहरुले मोबाइल हराएको र कुटाइ खाएको घटनामा विवाद निकाले । अर्जुनले मोबाइल चोर्दा सुमितले कुटाई खाएको भन्दै भण्डारीको समूहले उनलाई मरणासन्न हुने गरी कुटपिट गर्यो ।
कुटपिट गरेपछि उनलाई रुखमा बाँधियो । अर्जुनलाई रुखमा बाँधेपछि उनीहरु फेरि ड्रग्स र गाजा खान थाले । साँझ छ बजेदेखि राति १२ बजेसम्म उनीहरुले लगातार ड्रग्स र गाजा लिइरहे । मोबाइल चोरेको भन्दै मनोज भण्डारी, सुमित साउद, बम बहादुर बोहरा, सुशील मयाल, दीलिप दास, बादल विक र करण दर्नालसमेतले अर्जुनलाई कुटपिट गरे ।
ड्रग्सले मातिएका उनीहरुले एक्कासी अर्जुनलाई मार्ने योजना बनाए ।
अर्जुनलाई हात खुट्टा बाँधेर राखेको चार–पाँच घण्टापछि सबैले लागु औषधको नशामा मार्नुपर्छ भनेपछि सुशील मयालले खुकुरी उपलब्ध गराए । खुकुरी दिएपछि उनी घर फर्के । मनोज भण्डारीका अनुसार अन्दाजी राति २ बजे उनीहरुले अर्जुनको घाँटी रेटेर हत्या गरे । उनीहरुले रातभर लागु औषध सेवन गरेर त्यहीं बसे । लागु औषधको नशाले लठ्ठिएका उनीहरु दुई जना बाहेक सबै सुते ।
नसुतेका दुई जनाले बिहान चार बजे सुतेका सबैलाई उठाए । त्यति बेलासम्म उनीहरुलाई नशाले छाडिसकेको थियोे । नशाले छाडेपछि उनीहरु डराउन थाले । ‘बिहान होसमा आएपछि हामीले त मान्छे मारेर पो बसेका हौं, भन्ने याद भयो, हामी डरायौं, अब के गर्ने कसो गर्ने भन्ने भयो’, शुक्रबार काठमाडौं गरिएको पत्रकार सम्मेलनमा मनोजले सुनाए ।
बिहान भएपछि डराएका उनीहरुलाई अब के गर्ने कता जाने भन्ने भयो । मनोज भण्डारी काठमाडौं पढ्न आउने तयारीमा थिए । काठमाडौं पढ्न जानका लागि भन्दै घरपरिवारले उनलाई ७ हजार रुपैयाँ दिएको थियो । त्यही खर्चमा उनीहरुले भारततिर भाग्ने योजना बनाए ।
३ पुसको बिहान ५ बजे मनोज भण्डारी, दिलिप दास, बादल विक, बमे बोहरा, सुमित साउद र विवेक सिंह भारतको दिल्लीतर्फ लागे भने कनकलाल विक, करण दर्नाल, सुशील मयाल र नाम थर वतन नखुलेका उनका साथी कैलालीमै लुकेर बसेका थिए । हत्यापछि मनोज भण्डारीले एक जनालाई फोन गरेर अर्जुनको हत्या आफूले नै गरेको हो भनेको अडियो सार्वजनिक भएको थियो ।
पछि फेरि उनले ‘हत्यारा हौं, पक्राउ गरेर देखा’ भन्दै प्रहरीलाई चुनौती दिएका थिए । भारतमा काम नपाएपछि हत्यामा संलग्न चारै जना काम खोज्न रुपन्देहीको सिद्धार्थ नगरपालिका–१ बेलहिया नाका फर्के । प्रहरीले काम खोजिरहेका उनीहरुलाई नाकामै पक्राउ गरेको हो । अर्जुनका हत्यारा पक्राउ गर्न अपराध महाशाखाबाट गोप्य टोली परिचालन गरिएको थियो । पक्राउ परेकाविरुद्ध जिल्ला अदालत कैलालीमा कर्तव्य ज्यान मुद्दा चलिरहेको छ ।