धामीझाँक्रीको भर पर्दा महिलाको मृत्यु, स्थानीय भन्छन्-सरिया तताएर हानिएको थियो
2022/04/17, 10:39
 
ss

धामीझाँक्रीको भर पर्दा कञ्चनपुरको वेदकोट नगरपालिका–६ मुसेपानीका ४२ वर्षीया रञ्चुला साउँदको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय  कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामसिंह चौधरीका अनुसार लामो समयदेखि बिरामी साउँदलाई झारफुक गर्न धर्मानन्द भट्ट र नारायणदत्त भट्ट घरमा आउने गरेका थिए । 

झारफुककै क्रममा साउँदको शुक्रवार राति मृत्यु भएको थियो । मृत्युको घटनाबारे शनिवार बिहान मात्रै प्रहरीलाई जानकारी प्राप्त भएको थियो । स्थानीयवासीका अनुसार धामीझाँक्रीद्वयले झारफुकका नाममा साउँदलाई सरिया तताएर कुटपिट गरेका थिए । प्रहरी उपरीक्षक चौधरीले झारफुकमा संलग्न उनीहरूलाई नियन्त्रणमा लिएको बताए । महिलाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल पठाइएको उनले जानकारी दिए । 

वेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्दले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका छन् । धामीझाँक्री हल्दुखाल र बाराकुण्डाका हुन् भन्ने आएको छ उनले भने, बिरामीले थला परेकी साउँद तीन दिनदेखि गम्भीर हुँदा पनि धामीझाँक्री झारफुकमै लागेको भन्ने सुनियो ।