कैलालीको धनगढी–अत्तरिया जोड्ने छ लेन सडकको म्याद सकिए पनि काम पूरा हुन सकेको छैन । चौथो पटक थप भएको म्याद चैत मसान्तमा सकिएको हो । तर, अझै पनि पाँच प्रतिशत कार्य बाँकी रहेको आयोजनाको कार्यालयले जानकारी दिएको छ ।
सो कार्यालयका अनुसार सडक पेटीमा राखिएको ब्लक गुणस्तरहीन भएको भन्दै अख्तियारमा उजुरी परेको थियो । उजुरीका कारण केही समयसम्म काम ठप्प भएपछि चौथो पटक थप गरिएको समयमा पनि छ लेन सडक निर्माणको कार्य पूरा हुन नसकेको हो ।
सडक निर्माणको कार्यले पूर्णता पाउन नसकेपछि निर्माण कम्पनीले पाँचौ पटक म्याद थपको माग गरेका छन् । कम्पनीहरुले असार मसान्तसम्म म्याद थप गर्नु पर्ने माग राखेर आयोजनाको कार्यालयमा निवेदन दिएको आयोजना प्रमुख रामबहादुर गुरुङले बताए । यद्यपि, आयोजनाको कार्यालयले बाँकी काम डेढ महीनाभित्रै सम्पन्न गर्ने सुनिश्चितता गरेमामात्रै म्याद थप गर्ने नत्र जरिवाना लिएर काम गराउने जिकिर गरेको छ ।
आयोजना प्रमुख गुरुङले डेढ महीनाभित्र काम गर्ने सुनिश्चिता भएमा डेढ महीना म्याद थप गर्न सकिने संकेत गरेका छन् । ‘म्याद थपको माग गर्दै निर्माण कम्पनीले निवेदन दिएका छन्’, उनले भने । ‘तर, कामको सुनिश्चितता नभएसम्म म्याद थप गर्न सकिन्न । म्याद थप नभएमा म्याद सकिएको मितिदेखि जरिवाना लिने गरी निर्माण कम्पनीलाई काम गराउँछौं ।’
आयोजना कार्यालयका अनुसार सडक फुटपाथ, सर्भिस लेन निर्माण लगायतका कार्य बाँकी रहेको छ । हालसम्म कालोपत्रेको कामले पूर्णता पाएको छ । तर, रेलिङ्ग लगाउने, रङ्गरोगन गर्ने, ट्राफिक संकेत र बोर्ड राख्ने कार्य अझै बाँकी रहेका छन् ।
हालसम्म ९५ प्रतिशत निर्माणको कार्य सम्पन्न भएको र अब पाँच प्रतिशत काममात्रै बाँकी रहेको आयोजना प्रमुख गुरुङले बताए । बाँकी रहेको काम गर्नका लागि निर्माण कम्पनीहरुले पनि त्यति वास्ता नगरेको आयोजनाको कार्यालयले जनाएको छ । धनगढी उपमहानगरपालिकाको भन्सारस्थित मोहना नदी पुलदेखि गोदावरी नगरपालिकाको अत्तरिया चौकसम्म १४.२ किलोमिटर दूरी रहेको छ लेन सडकको काम तीन प्याकेज बनाएर गरिदैंछ ।
मोहना पुलदेखि बोराडाँडीसम्म ४.५ किलोमिटरको पहिलो खण्डमा शर्मा–अमर–नागार्जुन जेभीले काम गरिरहेको छ । यसैगरी, बोराडाँडीदेखि गेटासम्मको ४.५ किलोमिटर खण्डमा लुम्बिनी–राजेन्द्र–डाँफे र गेटादेखि अत्तरिया चौकसम्म लामा–राजेन्द्र–डाँफे जेभीले काम गरिरहेका छन् ।
२०७४ जेठबाट छ लेन सडक निर्माणको कार्य सुरु भएको थियो । सुरुवाती समयमा सडक क्षेत्राधिकारमा रहेको संरचना हटाउने कार्य विवादका कारण कामले गति लिन सकेको थिएन । सर्वोच्च अदालतमा मुद्दासमेत परेपछि केही समय सडक निर्माणको कार्य नै ठप्प भएको थियो । सर्वोच्चको मुद्दा छिनोफानोपछि तदारुकताका साथ काम अगाडि बढाइए पनि बीचमा कोरोना प्रभावका कारण समस्या भएको थियो । कोरोनाकै कारण चौथो पटक छ महीनाका लागि म्याद थप गरिएको थियो । तर, थप गरिएको समयमा पनि काम पूरा हुन सकेन ।
छ लेनको काम पूरा नभएपछि सो सडकमा ट्राफिक व्यवस्थापन पनि चुनौतीपूर्ण बनेको छ । मान्छेहरुले जथाभावी बाटो काट्ने गरेका छन् । यसैगरी, विभिन्न ठाउँमा मिडियन फुटाइएको छ । मान्छेहरु फुटाएको मिडियन भएर एक लेनबाट अर्को लेनमा जथाभावी जाने गरेका छन् । यसले जोखिम बढाएको छ ।
छ लेन सडक निर्माणकै क्रममा रहेकाले त्यहाँ ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । आयोजना कार्यालयका अनुसार तीनवटै खण्डमा गरी एक अर्ब ६५ करोड लागत रहेकोमा निर्माण कम्पनीहरुले कुल रकमको करिब ९० प्रतिशत भुक्तानी लिइसकेका छन् ।
सरकारले सार्वजनिक खरिद ऐन संशोधन गरेर कोरोनाका कारण प्रभावित आयोजनाको अवधि चैत मसान्तसम्म पु¥याएपछि छ लेनको अवधि पनि थपिएको हो । निर्माण कम्पनीहरुले यसअघि कोरोनाका कारण काम गर्न नपाएको तर्क गरे पनि संक्रमणको अवस्था सामान्य हुँदासमेत कामले गति लिएको छैन ।
यसैगरी, मोहना नदीमा डबल लेनको पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ । एक महीना अगाडि सो पुलको ठेक्का सम्झौता भएको आयोजनाको कार्यालयले जानकारी दिएको छ । १२५ मिटर लामो पुल निर्माणको भ्याटबाहेकको लागत मूल्य १२ करोड १७ लाख रुपैयाँ रहेको छ । रायमाझी कन्स्ट्रक्सनले ठेक्का पाएको छ ।