रहेनन् थरुहट आन्दोलनका अगुवा नेता लाहुराम चौधरी
2022/04/19, 3:38
 
ss

थारु कल्याणकारिणी सभा कैलालीका सभापति लाहुराम चौधरीको निधन भएको छ । ३ वैशाखमा धनगढीको मिलनचौकमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका चौधरीको मंगलबार उपचारका क्रममा निधन भएको हो । 

उनको धनगढीकै मायामेट्रो अस्पतालमा उपचार भइरहेको थियो । चौधरी थारु आन्दोलनका अगुवा नेता हुन् ।  ७२ साल भदौमा कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनापछि उनी जेल परेका थिए । थरुहट आन्दोनलका क्रममा टीकापुरमा हिंसा भड्किँदा एक नाबालक र प्रहरी वरिष्ठ उपरीक्षकसहित आठ प्रहरीले ज्यान गुमाएका थिए । 

त्यतिबेला लाहुरामले थरुहट आन्दोलन धनगढीको नेतृत्व गरेका थिए । टीकापुरमा घटना भएका दिन धनगढीको आन्दोलन हाँकिरहेका चौधरीले स्थानीय रेडियोमा टीकापुर घटनाको जिम्मेवारी आफूहरूले लिने बताएपछि प्रहरीले उनलाई पक्राउ गरेर मुद्दा चलाएको थियो ।  उनी तीन वर्ष जेल बसेर पछि रिहा भएका थिए ।