लागुऔषधका बिक्रेतालाई फोकस गर्छौ: एसपी राठौर
2022/04/21, 10:43
 
crct

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरले लागुऔषध नियन्त्रण गर्नमा आफूले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।  बुधबार पत्रकार सँगको परिचयात्मक कार्य उनले जिल्लामा शान्ति सुरक्षा कायम गर्नका लागि अपराध नियन्त्रण र अनुसन्धानमा ध्यान दिँदै लागुऔषध नियन्त्रणमा पनि महत्वपूर्ण भूमिका खेल्ने बताएका हुन् ।

‘कार्यालयको नेतृत्व सम्हालेको आज तीन दिन मात्रै भएको छ । यसो बुझ्दा यहाँ लागुऔषधको कारोबार बढी छ भन्ने सुनिएको छ,उनले भने, ‘अब मैले यो जिल्लाको जिम्मेवारी सम्हालि सकेको छु । यहाँको शान्ति सुरक्षा कायम गर्नका लागि नेपाल सरकारले प्रहरी ऐन २०१२ बमोजिम दुई वटा जिम्मेवारी दिएको छ। जुन अपराध नियन्त्रण र अनुसन्धान हो । हाम्रो उद्देश्य पनि यही हो । जिल्लामा अपराध नियन्त्रण गर्ने र अनुसन्धान गर्ने नै मेरो योजना हो ।’

उनले लागुऔषधको प्रयोगकर्ताभन्दा पनि डिलरलाई बढी फोकस गरेर कारबाही गर्ने बताए । ‘लागुऔषध प्रयोगकर्ता आफैमा पीडित हुन् । सेवनकर्ताले आफ्नो जीवन पनि जोखिममा राख्छ । परिवार पनि पीडामा हुन्छ । सामाजिक रुपमा पनि अपहेलित हुन्छ । परिवारलाई आर्थिक समस्या पनि हुन्छ । त्यसकारण यो नियन्त्रणमा घरबाटै सुरुवात गर्न आवश्यक छ । प्रहरीले नियन्त्रण त गर्छ । कानुन अनुसार अनुसन्धान र कारबाही पनि गर्छ । तर, त्योले मात्रै  समस्या समाधान हुँदैन । आगामी दिनहरूमा हामी सेवनकर्ता भन्दा पनि डिलरलाई बढी फोकस गर्छौ ,’ उनले भने ।

कैलालीका एसपी विश्व अधिकारीलाई प्रहरी प्रधान कार्यालय काठमाडौँले अधिकारीको केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्ज काठमाडौँमा काज सरुवा गरेपछि प्रहरी प्रधान कार्यालय काठमाडौँ नक्सालबाट राठौरलाई उनको ठाँउमा पठाइएको हो ।