भारतीय वनकर्मीले सीमावर्ती गाउँ बड्का र छुट्की पलियाका बासिन्दालाई हरेक वर्ष भारतमा जनश्रमदान गराउन लग्छन् । ति वनकर्मीले भने अनुसार गाउँभरिकै मान्छे दुधुवा नेशनल पार्कमा जान्छन् ।
वनकर्मी हिड्ने बाटो सफा गर्नुका साथै भत्केको, बिग्रेको बाटो बनाउँछन् । एक वा दुई वर्षमात्रै हैन, हरेक वर्ष यसरी जनश्रमदान गर्नुपर्छ, त्यो पनि एक÷डेढ हप्तासम्म । तर, त्यतिलेमात्रै पुग्दैन । वर्षैपिच्छे हरेक घरघरबाट रुपैयाँ पनि उठाएर ति वनकर्मीलाई दिनुपर्छ ।
‘सित्तैमा काम गरेरमात्रै हुँदैन । उल्टै प्रत्येक घरबाट पैसा पनि उठाएर भारतीय वनकर्मीलाई बुझाउनु पर्दछ’, कैलारी गाउँपालिका–५ का वडा अध्यक्ष विष्णुप्रसाद चौधरी भन्छन् । ‘त्यसरी काम गरेमा र पैसा दिएमामात्रै भारतीय वन क्षेत्रमा वस्तुभाउ पस्न र मान्छेलाई माछा मार्न दिने भन्छन् ।’
चरिचरन समस्या भोगिरहेका र माछाका सौखिन सीमावर्ती स्थानीय भारतीय वनकर्मीको कुरा सजिलै स्वीकार्छन् । वनकर्मीले भने अनुसार श्रमदान गर्नेमात्रै हैन, पैसा पनि दिने उनीहरुमाथि भारतीय पक्षको ज्यादति भने रोकिएको छैन । सित्तैमा काम गराएर उल्टै पैसा पनि लिने भारतीय पक्षले दुधुवातिर हिडेको देख्दा पनि पक्राउ गरेर चोरी, ठगी जस्ता मुद्दा लगाइरहेको वडा अध्यक्ष चौधरी बताउँछन् । ‘दुधुवातिर केहि भएमा सीमा क्षेत्रका गाउँवासीलाई देख्ने बित्तिकै पक्राउ गरेर झूठो मुद्दा लगाउन थाल्छन्’, उनले थपे । ‘अहिले पनि हाम्रा एक जना वडावासी लखिमपुर जेलमा छन् ।’
बड्का र छुट्की पलिया गाउँवासी त उदाहरणमात्रै हुन । सीमावर्ती क्षेत्रमा रहेका धेरैजसो गाँवासीले यसैगरी भारतीय पक्षको ज्यादति खेपिरहेका छन् । भारतीय सुरक्षाकर्मी र वनकर्मीले अनाहकमा दुःख दिइरहेको सीमावर्ती क्षेत्रका जनप्रतिनिधि बताउँछन् ।
भारतीय सुरक्षाकर्मी र वनका अधिकारीले सित्तैमा काम गराउने, पैसा लिने काममात्रै नगरेर नेपालीभूमिमा भइरहेको विकास निर्माणका कार्यमा पनि अवरोध गरिरहेको कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी बताउँछन् । मोहना नदी पारि रहेका गाउँवासीको सहजताका लागि मोहना नदीमा झोलुङ्गे पुल, नदीमा तटबन्ध बनाउने कार्य गर्दा त्यहाँका सुरक्षाकर्मीले अवरोध पु¥याइरहेको उनले बताए ।
‘उनीहरुले जनतालाई दुःख दिनेमात्रै हैन, विभिन्न बहाना बनाएर विकास निर्माणका कार्यमा पनि अवरोध पु¥याउने कार्य गरिरहेका छन्’, अध्यक्ष चौधरीले भने । ‘झोलुङ्गे पुल किन बनाउन लागेको, यसले गर्दा भारतबाट चोरी हुन्छ भन्ने लगायतका बखेडा झिक्ने गरेका छन् ।’ मोहना नदी पारि रहेको हौसलपुर र शिवरत्नपुर गाउँवासीको सहजताका लागि नदीमा झोलुङ्गे पुल बनाउने कार्य सुरु गरिएको छ ।
कैलारी गाउँपालिका र भजनी नगरपालिकाको वडा नम्बर ३, ५ र ७ भारतीय सीमासंग जोडिएको छ । दुवै पालिकामा सीमासंग जोडिएका सीमावर्ती गाउँवासीले भारतीय पक्षबाट एउटै किसिमका ज्यादति खेप्न बाध्य छन् । नेपालका धेरै जसो मधेसी समुदायका मान्छेहरु सीमावर्ती भारतीय बजारमा मजदुरी गरेर गुजारा गर्ने गरेको भजनी नगरपालिका–७ का वडा अध्यक्ष अमरबहादुर कठरिया बताउँछन् । तर, काम गर्न जाने ति मजदुरहरुलाई सुरक्षाकर्मीले सताउने गरेको उनले बताए ।
भजनी नगरपालिका–३ र ७ मा नदी कटानका कारण सीमा विवाद पनि सृजना भएको बताइएको छ । दुई वडाको करिब डेढ सय बिघा जमिन मोहना नदी पारि गइसकेको छ । मोहना नदी पारि रहेको नेपाली भूमितिर भारतीय पक्षले विवाद गरेर सीमा स्तम्भ पनि बनाउन नदिएको वडा नम्बर ३ का अध्यक्ष विक्रम चौधरी बताउँछन् । उनले दुवै देशको अधिकारी सम्मिलित टोली पुग्दा भारतीय पक्षले सीमा स्तम्भ बनाउन नदिएको बताए ।
वडा अध्यक्ष चौधरीका अनुसार मोहना नदी वारि भारतीय भूमि पनि रहेको छ । तर, वारि रहेको भारतीय भूमितर्फ भने सबैतिर सीमा स्तम्भ बनाइएको छ । ‘वारि रहेको भारतीय जमिनतिर पिल्लर बन्ने तर, पारि रहेको नेपाली भूमितिर पिल्लर नबन्दा विवाद भइरहेको छ’, उनले भने ।
सीमा क्षेत्रमा भारतीय पक्षबाट भइरहेको ज्यादति रोक्न पहल गर्नका लागि जनप्रतिनिधिले कैलाली प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेका छन् । कैलालीमा १०१ किलोमिटर नेपाल–भारत खुला सिमाना रहेको छ । खुला सिमानाका कारण विभिन्न ठाउँबाट लागुऔषध तस्करी हुँदै आएको पनि बताइएको छ । लागुऔषधको सहज रुपमा तस्करी, पैठारीले सीमा क्षेत्रमा लागुऔषधका दुव्यर्सनी बढिरहेका जनप्रतिनिधिको भनाइ छ । बालबालिकाको भविष्यप्रति चिन्ता व्यक्त गर्दै उनीहरुले चोरी, तस्करी नियन्त्रण गर्न प्रशासनलाई आग्रह गरेका छन् ।
सीमा क्षेत्रबाट भइरहेको तस्करी नियन्त्रण गर्नका लागि प्रशासनले कडाई गर्नु पर्ने धनगढी उपमहानगरपालिका–२ का वडा अध्यक्ष नरबहादुर बमले बताए । उनले राति बढी तस्करी हुने गरेको उल्लेख गर्दै चेकजाँचमा कडाइ गर्न आग्रह गरे । यसैगरी, कतिपय अवस्थामा नेपाली सुरक्षाकर्मीले पनि दुःख दिएर उनीहरुले गुनासो गरे ।
सीमा क्षेत्रका जनताले भारतीय पक्षबाट भोगिरहेका समस्याकाबारे दुई देशको ‘काउण्टर पार्ट’ बैठकमा कुरा उठाइने कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताएका छन् । यहि १० गते दुवै देशका अधिकारीबीच संयुक्त बैठक हुँदैछ ।