स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेस बैतडीले स्थानीय तहका प्रमुख र उपप्रमुख पदका लागि उम्मेदवारको टुंगो लगाएको छ। जिल्लाका ४ ओटा नगरपालिकामा काँग्रेसको सुदूरपश्चिम प्रदेश संसदीय बोर्डले उम्मेदवारको टुंगो लगाएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य रमेश पाण्डेयले बताए।
जसअनुसार दशरथचन्द नगरपालिकाको मेयरमा गजेन्द्रसिंह रावल र उपमेयरमा कौशिला चन्द, पाटन नगरपालिकाको मेयरमा गौरसिंह रावल, मेलौली नगरपालिकाको मेयरमा प्रेमबहादुर चन्द र उपमेयरमा पार्वती बिष्टलाई उम्मेदवार बनाएको छ। पाटन नगरपालिकाको उपमेयर पदमा भने गठबन्धन दलको उम्मेदवार हुने बताइएको छ।
यस्तै पुर्चौंडी नगरपालिकाको मेयरमा दीपकबहादुर बमलाई उम्मेदवार बनाएको काँग्रेसले उपमेयरको भने टुंगो लगाउन सकेको छैन। गठबन्धन दलसँग छलफल जारी रहेकाले उपमेयर पदको टुंगो लाग्न बाँकी रहेको जिल्ला कार्यसमिति सदस्य पाण्डेयले बताए।
यस्तै जिल्लाका ६ गाउँपालिकामा पनि उम्मेदवार छानिएको छ। सुर्नया गाउँपालिकाको अध्यक्षमा गजेन्द्रबहादुर चन्द र उपाध्यक्षमा मञ्जु बोहरा, सिगास गाउँपालिकाको अध्यक्षमा हरिसिंह धामी र उपाध्यक्षमा सुमित्रा ऐर, शिवनाथ गाउँपालिकाको अध्यक्षमा कर्णसिंह साउँदलाई उम्मेदवार बनाएको छ । शिवनाथको उपाध्यक्ष भने गठबन्धन दललाई दिइनेछ।
यसैगरी पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा रमेशसिंह भण्डारी र दोगडाकेदार गाउँपालिकाको अध्यक्षमा देवराज जोशीलाई उम्मेदवार बनाएको छ। ती दुवै पालिकामा उपाध्यक्ष पद भने गठबन्धन दललाई दिइएको काँग्रेस बैतडीले जनाएको छ। यस्तै डिलाशैनी गाउँपालिकाको उपाध्यक्ष पदका लागि भगीरथ बोहरालाई उम्मेदवार बनाइएको छ। भने, अध्यक्ष पदको उम्मेदवार भने गठबन्धन दललाई दिइएको छ।