स्थानीय तहको निर्वाचनको बेला कैलाली, कञ्चनपुरसंग जोडिएको नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा नाका सिल गर्ने सहमति भएको छ । आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर ४८ घण्टा सीमा सिल गर्ने सहमति भएको हो । निर्वाचन केन्द्रित शान्ति सुरक्षा तथा सीमा व्यवस्थापनका विषयमा शनिबार कैलालीको गोदावरीमा बसेको नेपाल भारतका अधिकारीहरुको दुई देशीय समन्वयात्मक बैठकले निर्वाचन हुनुभन्दा अगाडिबाट सीमा बन्द गर्ने सहमति गरेको हो ।
गृह मन्त्रालयको आदेश अनुसार भारतीय सुरक्षा निकायसँग छलफल गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए । थापाका अनुसार बैठकमा निर्वाचन लक्षित सुरक्षा व्यवस्था, सीमा विवाद तथा सिमामा देखिएका दुवै देशका समस्याको विषयमा छलफल गरिएको छ ।
‘बैठकले चुनावको दिनभन्दा ४८ घण्टा अगाडि सिमानाका सिल गर्ने गर्ने निर्णय गरेको छ’, थापाले भने, ‘अत्यावश्यक आवतजावतमा सहज गरिनेछ तर सो बाहेकका आवतजावतमा रोक लगाईनेछ ।’अत्यावश्यक सेवामा विवाह, अन्तिम दाहसंस्कार, बिरामी रेफर केस र पेट्रोलियम पदार्थको ओसारपसार पर्ने उनले बताए ।
‘यी बाहेकका सबै किसिमका आवतजावतमा रोक लगाइनेछ’, थापाले भने । त्यस्तै निर्वाचन लक्षित बैठकले चुनावी तयारी बढाएको बताउँदै थापाले दुवैदेशबीच सुमधुर सम्बन्ध स्थापित गर्नेगरी थप विभिन्न विषयमा छलफल गरेको बताएका छन् ।
नेपालमा हुने निर्वाचनलाई शान्तिपूर्ण बनाउनका लागि सीमा बन्द गरेर सहयोग गर्ने लखिमपुर खिरीका सहायक जिल्ला अधिकारी संजय कुमार सिंहले बताएका छन् । ‘नेपालमा हुने स्थानीय तहको चुनावका लागि हामी तयार छौँ’, उनले भने, ‘स्वतन्त्र र शान्तिपूर्ण तरिकाले चुनाव सम्पन्न गर्न भारतीय सुरक्षा निकायको तर्फबाट पूर्ण सहयोग गर्छौ ।’
बैठकले सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि दुवै देशका अधिकारीले सूचना आदानप्रदान गर्ने र सीमा क्षेत्रमा संयुक्त रुपमा गस्ती गर्ने निर्णय पनि गरेको कैलाली जिल्ला प्रशासन कार्यालयका अधिकृत शिवराज जोशीले बताए । पछिल्लो समय लागुऔषधको ओसारपसारको घटना बढेको छ । त्यस्तै, चोरी तस्करी नियन्त्रणका लागि एक–आपसमा समन्वय गरेर काम गर्ने दुवै देशका अधिकारी सहमत भएको जनाइएको छ ।
बैठकमा नेपालका तर्फबाट कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेय, सुरक्षा निकायका प्रमुख, सुरक्षा समितिका पदाधिकारी, भन्सार र वनका प्रमुखको उपस्थिति रहेको थियो । यस्तै, भारतबाट एडीएम सञ्जयकुमार सिंहको नेतृत्वमा सुरक्षा निकाय, भन्सार र वनका अधिकारीहरुको उपस्थिति रहेको थियो ।यस्तै, वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको बेला कञ्चनपुरसित जोडिएका नेपाल–भारत सीमा नाका ४८ घण्टा बन्द गर्ने सहमति भएको छ । महेन्द्रनगरमा बसेको केन्द्रीय इण्डो–नेपाल समन्वयात्मक बैठकले सो निर्णय गरेको हो ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले बैठकमा स्थानीय तहको निर्वाचनमा सीमा सिल, सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा वन्यजन्तु चोरी शिकारी नियन्त्रणलगायतका विषयमा छलफल भएको जानकारी दिए । कञ्चनपुरसित सीमा जोडिएका भारतीय नाका वैशाख ३० गतेको ४८ घण्टाअघिदेखि बन्द हुनेछन् । अस्पताल र किरियापुत्री लगायत विशेष कामलाई भने नाकामा आवागमन सहज गर्ने जनाइएको छ । त्यसैगरी प्रजिअ पाण्डेका अनुसार नेपाल–भारत सीमा अतिक्रमणका विषयमा समेत बैठकमा छलफल भएको छ ।
‘संयुक्त सर्वे टिमलाई सीमा छुट्याउन अनुरोध गर्ने विषयमा पनि एकमत भएका छौँ’, उनले भने, ‘सीमा अतिक्रमणको विषय दुवै देशबाट उठे ।’ सीमामा हुने आपराधिक गतिविधि नियन्त्रण, वन्यजन्तु चोरी शिकारी नियन्त्रणलगायतका विषयमा दुवै देशका सुरक्षा निकायबीच सूचना आदानप्रदान गरेर अघि बढ्ने विषयमा सहमत भएको प्रजिअ पाण्डेको भनाइ छ ।
यसैगरी बैठक सकिएपछि पत्रकारसँग प्रतिक्रिया दिँदै भारतको कुमाउका डिआइजी निलेश आनन्द भरणेले नेपालमा हुने गइरहेको स्थानीय तहको निर्वाचनमा सीमा सिल, सीमा क्षेत्रको शान्ति सुरक्षामा आफूहरु सहयोग गर्ने बताए । ‘चम्पावतमा हुने निर्वाचनका बेला पनि हामी नेपाली अधिकारीसित सीमा क्षेत्रमा नाका सिललगायतको सहयोग मागेका छौँ’, डिआइजी भरणेले भने, ‘अन्य आपराधिक गतिविधि नियन्त्रणमा नेपाल–भारत सुरक्षा निकायबीचको सहकार्य निकै राम्रो रहेको छ ।’
बैठकमा नेपालका तर्फबाट कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डे, सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनी अत्तरियाका प्रमुख सशस्त्र प्रहरी नायबमहानिरीक्षक दुर्गाप्रसाद भट्टराई, कञ्चनपुरका सुरक्षा निकायका प्रमुख, भन्सार तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुखलगायतको सहभागिता रहेको थियो । त्यस्तै भारतीय पक्षबाट चम्पावतका डीएम विनित तोेमर, पिलिभितका डीएम पुलकित खरे, उद्यामसिंह नगरका डीएम युगल किशोर पन्तलगायतको सहभागिता थियो ।