स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा धनगढी बासिलाई साथ दिने नेताको चर्चा हुन थालेको छ ।धनगढीको नगरको भविष्य अप्ठेरोमा पार्ने गरी प्रदेशसभाले सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको ‘गोदावरी’ सारेको अवस्थालाई धनगढीका बासिन्दाले सम्झिरहेका छन् ।
दशैको मुखमा (२०७५ साल असोज १२ गते) प्रदेश सभाले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको बहिस्कारका बिच ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेका थिए ।
सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीको जङ्गलमा सार्ने प्रस्ताव पास भएपछि त्यसको विरोध गर्दै स्थानीय नागरिक समाजलाई समर्थन गर्दै धनगढी उप–महानगरपालिकाका निवर्तमान नगरप्रमुख नृपबहादुर वड आन्दोलनको अग्र मोर्चामा खटिएका थिए ।
धनगढी बासीको दुःखसुखको साथीको रुपमा नृपबहादुर वडलाई पाएका छौँ धनगढी उप–महानगरपालिका १ का वसन्त हमालले भने,‘ कसैले निजी क्षेत्रका सङ्घसंस्थाको नेतृत्व गरेकै कारण स्वघोषित अभियन्ताको फुर्ती लगाई रहँदा धनगढीबाट राजधानी गोदावरी सारिदा ती उम्मेदवार कहाँ लुकेका थिए ।’
धनगढीबाट राजधानी गोदावरी सारेको दिन नै धनगढी बासिका लागि कालो दिन भएको बताउँदै हमालले भने,‘ नेतालाई अनुकूलता र प्रतिकुलता हुँदैन सधैँ जनताको साथमा हुन्छ ।’ हमालले नृपबहादुर सजिलो, सबैका कुरा सुन्ने, आदर सम्मान गर्न सक्ने लोकतान्त्रिक चरित्रको नेता भएकाले पनि गएको निर्वाचनमा धनगढीको नगरप्रमुखमा विजयी भएको र अहिले पनि बस्तीहरूमा उनकै चर्चा रहेको बताए ।
राजधानी गोदावरी तोकिएपछि धनगढीका बासिन्दाले एक हप्ता सम्म आन्दोलन गर्दा पनि एक पटक सडकमा ननिस्कने, उल्टै आन्दोलनको अवज्ञा गरेर आफ्नो व्यापार चलाउने व्यक्तिलाई नृपबहादुर वड सँग तुलना गर्न नसकिने धनगढी जुगेडाका देवबहादुर थापाले बताए ।
‘धनगढीमै कमाएका छन्,यही कमाएका छन् तर धनगढी नगरलाई अप्ठेरो पर्दा चुइँक्क सम्म नबोल्नेलाई नगर बासीले कसरी भोट देलान्,’ उनले भने ।
वसन्त र देवबहादुर मात्रै नभएर नृपबहादुर वडले धनगढीको पक्षमा गरेको आन्दोलन सम्झिनेहरू धेरै छन् । यस पटक पनि धनगढी उपमहानगरपालिकाको नगरप्रमुखमा तीन दलीय गठबन्धनबाट मेयरमा नृप बहादुर वडले उम्मेदवारी दर्ता गराएका छन् ।