स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेसले विभिन्न समिति गठन गरेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई विजयी गराउन समन्वय, अनुगमन, सचिवालय व्यवस्थापन, प्रचार–प्रसार र युवा परिचालन समिति गठन गरेको हो ।
नेपाली काँग्रेस केन्द्रीय सदस्य जिवन रानाको संयोजकत्वमा समन्वय समिति गठन गरेको धनगढी नगर सचिव दीनेश खत्रीले बताए । उनका अनुसार सो समितिको सह–संयोजकमा टेकवहादुर रैका, सदस्य सचिवमा हरिस खडका, सदस्यमा जिल्ला पदाधिकारी, महाधिवेशन प्रतिनिधी र प्रदेश सभा सदस्यहरु रहने जनाइएको छ । सो समितिले वडा तहमा देखिएका विवादहरु मिलाउने, पार्टीभित्रका असन्तुष्ट पक्षलाई वार्तामा ल्याउने र सहमतिको प्रयास गर्ने गराउने लगायतका काम गर्ने छन ।
यस्तै, धनगढी उपमहानगरपालिकाकी उपप्रमुख तथा नेपाली काँग्रेस केन्द्रीय सदस्य शुशिला मिश्र भट्टको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ भने सह–संयोजकमा प्रदेश महामन्त्री नरनारायण शाह (मनु) र सदस्य सचिवमा भीम पडाल रहेका छन । सो समितिमा जिल्ला पदाधिकारी, प्रदेश प्रतिनिधी, महाधिवेशन प्रतिनिधी, प्रदेश मन्त्री र वहालवाला वडा अध्यक्षहरु रहने छन । सो समितिले नेपाली काँग्रेसका कार्यकर्ताको गतिविधी निगरानी गर्ने छ ।
महासमिति सदस्य उद्धव विष्टको संयोजकत्वमा सचिवालय व्यवस्थापन समिति गठन गरिएको छ । सो समितिको सदस्य सचिवमा अमृत विसी, सदस्यमा रक्षा महरा, महेश गोले, नगर सचिव दीनेश खत्री र नेपाल प्रेस युनियनका अध्यक्ष श्रवण देउवा रहेका छन । सो समितिले सचिवालय व्यवस्थापन गर्नुका साथै सचिवालयमा आवश्यक सामाग्रीहरु तयारी गर्ने छन ।
नगर सभापति यज्ञराज उपाध्यायको संयोजकत्वमा प्रचार–प्रसार समिति गठन गरिएको छ । सो समितिको सह–संयोजकमा नेकपा माओवादी केन्द्रका युवा नेता रमेश भट्टराई, सदस्यमा १९ वटै वडा कार्यसमिति पदाधिकारी, वडाका भातृ संगठनका पदाधिकारी लगायत रहेका छन । सो समितिले प्रचार–प्रसारका गतिविधीलाई अघि बढाउने, व्यवस्थापन गर्ने लगायतका गतिविधी गर्ने छ ।
युवा नेता भक्तबहादुर विष्टको संयोजकत्वमा युवा परिचालन समिति गठन गरिएको छ । जसको सदस्यमा निराजन खडका, मनिस कुँवर, विनय चोखाल र महेश जोशी रहेका छन । नगर सचिव खत्रीले युवा परिचालन समितिले नगरभित्रका युवाहरुलाई पार्टीका गतिविधी, पार्टीको प्रचार–प्रसार, कार्यक्रम व्यवस्थापनमा समन्वय र सहयोग गर्ने बताए ।